




धनुषा – जनकपुर–ढल्केभर सडक खण्ड अन्तर्गत धनुषाको बसही पुल यथाशीघ्र निर्माणको माग गर्दै चक्काजाम गरिएको छ । जनकपुर–ढल्केभर ६ लेनमा अवस्थित मिथिला नगरपालिका–२ र ६ को सीमानामा पर्ने बसही पुल निर्माणको काम ठेकेदारले लामो समयदेखि अलपत्र पारेपछि स्थानीयहरू सडक अवरुद्ध गर्दै आन्दोलित बनेका छन् । उनीहरूले बुधबार बिहान आधा घण्टा चक्काजाम गरेका हुन् ।


अलपत्र बनेको बसही पुलमा दिनहुँ सवारी दुर्घटना हुने क्रम बढेपनि सरोकारवाला निकाय चुपी कस्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको प्रदर्शनमा सहभागी स्थानीयहरुले बताए । स्थानीयहरुको आन्दोलनमा सवारी चालकहरुले पनि समर्थन जनाएका थिए । ‘यो प्रदर्शन एकदमै जायज हो । यसमा हाम्रो पूर्ण समर्थन छ । हामीले दैनिक रुपमा यहाँ समस्या भोग्नुपरेको छ,’ आन्दोलनको क्रममा रोकिएका एक सवारी चालकले भने, ‘ठेकेदार भाग्यो भने राज्यले कारबाही गर्न सक्दैन ? कस्तो पो निरीह बनिराको सरकार ? ’ आज पहिलो दिन सांकेतिक रुपमा दबाब दिन आधा घण्टा मात्रै चक्काजाम गरेको कृषि बजार व्यवस्थापन समिति ढल्केभरका अध्यक्ष बुधेश्वर महतोले बताए । यस विषयमा आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल रहेको उनले बताए ।







































