Aamsanchar

प्रेस सेन्टर नेपालको १० बुँदे मागसहित सरकारलाई देशव्यापी ज्ञापन

Author Image
आइतवार, वैशाख २८, २०८२

झापा ।  सञ्चार क्षेत्रका विभिन्न मुद्दालाई लिएर प्रेस सेन्टर नेपालले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई १० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ। झापामा प्रेस सेन्टरका अध्यक्ष पुष्प खड्काको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सम्बोधन गरिएको ज्ञापन पत्र बुझाइएको हो।

ज्ञापनपत्रमा सञ्चारसम्बन्धी प्रस्तावित कानुनका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने चिन्ता व्यक्त गरिएको छ। साथै, परिवर्तनका पक्षमा कलम चलाएकै कारण राज्यबाट मारिएका वा बेपत्ता पारिएका पत्रकारका हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

साथै, एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यम र पत्रकारमाथि भएका आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाही, रजकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।

अन्य प्रमुख मागहरूमा संविधानमैत्री प्रेस कानुन निर्माण, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि स्वास्थ्य र जीवन बिमा, महिला तथा सीमान्तकृत समुदायका सञ्चारमाध्यमलाई प्रोत्साहन, तथा संघीय लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण लगायतका विषय समेटिएका छन्।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दीपेन्द्र राई ‘दिपिन’, प्रदेश १ का कोषाध्यक्ष झुलन रेग्मी, झापा अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्वय होमप्रकाश अधिकारी, सन्तोष शर्मा र सचिव प्रकाश उप्रेती सहभागी थिए।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर