Aamsanchar

आत्महत्या बाट कसरी टाढा रहने ?

Author Image
बुधवार, जेठ ८, २०८२

विश्वमा हरेक ४० सेकेन्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन्। नेपाल आत्महत्या दरको आधारमा विश्वको आठौं स्थानमा पर्छ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार, हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन्। भारतमा मात्रै एक वर्षमा २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरेका छन् भने नेपालमा वार्षिक ५ हजार ५७२ जनाले ज्यान गुमाउँछन्।

आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी पाइन्छ। नेपालमा पनि त्यस्तै अवस्था देखिएको छ। विशेषगरी ७० वर्ष नाघेका वृद्धहरूमा आत्महत्याको समस्या बढी देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा दैनिक एक दर्जनभन्दा बढी मानिसले आत्महत्या गर्छन्। प्रत्येक एक लाख जनसंख्यामा २५ जनाले आत्महत्या गर्ने दरका साथ नेपाल उच्च आत्महत्या दर भएको देशहरूमा आठौं स्थानमा पर्छ।

आत्महत्याका कारणहरू:

आत्महत्याका प्रमुख कारणहरू मानसिक, शारीरिक, आर्थिक, र सामाजिक पक्षसँग सम्बन्धित छन्। तीमध्ये केही यस्ता छन्:

१. मानसिक समस्या (९०% कारण): डिप्रेशन, चिन्ता, सिजोफ्रेनिया, पर्सनालिटी डिसअर्डर आदि।
२. लागूऔषध दुर्व्यसन।
३. गम्भीर रोगजस्तै टिबी, क्यान्सर, अपांगता आदिको कारणले निराशा।
४. ऋण, बेरोजगारी, गरिबी जस्ता आर्थिक कारण।
५. सामाजिक अविश्वास, पारिवारिक कलह, बेमेल विवाह।
६. सामाजिक प्रतिस्पर्धा, अपमान, चरित्र हत्या, सामाजिक प्रतिष्ठा गुम्ने डर।
७. प्रेममा असफलता, सम्बन्ध विच्छेद, धोका।
८. अध्ययन, जागिर वा व्यवसायमा असफलता।
९. अनावश्यक तुलना, देखासिकी, जीवनशैलीमा असन्तुलन।
१०. क्षणिक आवेग, क्रोध, लहड।

समाधान के हो?

– आत्महत्या समाधान होइन, समस्या समाधानको बाटो खोज्नुपर्छ।
– ‘हर असफलता सफलताका सिंढी हुन्’ भन्ने सोच बनाउनु पर्छ।
– आफन्त, साथी वा परामर्शदातासँग खुलेर कुरा गर्नु अत्यन्त आवश्यक छ।
– सामाजिक सहयोग, सहानुभूति र परामर्श सेवामा पहुँच हुनुपर्छ।
– जीवनको उद्देश्य र आशावादी सोचले आत्मबल दिन्छ।
– नियमित योग, ध्यान, सिर्जनात्मक कार्य र आत्ममूल्यांकन गर्नु।
– आफूभित्रको शक्ति र सकारात्मक पक्ष पहिचान गर्नु।
– सबै कुरा परिवर्तनशील हुन्छन्, समस्या पनि।

अन्त्यमा:

जीवनमा सुख–दुख, आरोह–अवरोह सामान्य कुरा हुन्। ‘मैले केही गर्न सक्दिन’ भन्ने नकारात्मक सोचले आत्महत्याको बाटो खोल्छ। तर ‘म सक्छु, म परिवर्तन गर्न सक्छु’ भन्ने सोचले जिन्दगीलाई नयाँ मोड दिन्छ।

समस्या हुँदा भाग्ने होइन, सामना गर्ने दृढ इच्छाशक्ति चाहिन्छ। आत्महत्या कहिल्यै समाधान होइन। त्यसैले – बाँचौं, हाँसौं, बाँडौं र सँगै अघि बढौं।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर