झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँच पोखरी सामुदायिक वनमा एक भाले (दँतार) जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। मृत हात्ती विगत लामो समयदेखि बिरामी रहेको बताइएको छ।


मंगलबार दिउँसो करिब १ बजे हात्ती मरेको सूचना पाएपछि अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित गरेको थियो।


घटनापछि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र (NTNC) बाट पशु चिकित्सक पुरुषोत्तम मुरारीको नेतृत्वमा आएको टोली र डिभिजन वन कार्यालय भद्रपुरका वन अधिकृत सुरज निरौलाको टोली घटनास्थलमा पुगेका थिए। उनीहरूले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी मृत हात्तीको पोस्टमार्टम गरेपछि सोही स्थानमै खाल्डो खनेर गाडिएको छ।

घटनास्थलमा DEFFO भरतबाबु श्रेष्ठ पनि उपस्थित थिए।

संबन्धित निकायले हात्तीको मृत्युको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाइएको छ।




