Aamsanchar

कालिका सिमसार लागूऔषध प्रयोगकर्ताको अखडा, ४३ जना पक्राउ, पर्यटक त्रसित

Author Image
बुधवार, जेठ १५, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सिमसार पर्यटकीय स्थल मात्र रहेन, अहिले त्यो लागूऔषध कारोबार र सेवनको खुला अखडा बन्दै गएको छ। हिजो साँझ कालिका सामुदायिक वन क्षेत्रमा लागूऔषध किनबेचका लागि जमघट भएपछि प्रहरीले ठूलो संख्यामा सेवनकर्ता पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा भएको संयुक्त स्वीप अपरेशनमा विभिन्न स्थानबाट आएका ४३ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरिएको हो। अपरेशनमा प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका टोली सहभागी थिए।

पक्राउ परेकाहरू सबै पुरुष रहेका छन्, जसको उमेर १५ देखि ४० वर्षको आसपासको रहेको बताइएको छ। उनीहरू लागूऔषध खरिद गर्न भेला भएका थिए भने कारोबारी भने घटनास्थलबाट भाग्न सफल भएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट केही मात्रामा लागूऔषध बरामद गरिएको छ भने १४ वटा मोटरसाइकल, एक अटो र एक मारुती भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद लागूऔषधको परिमाण यथार्थ रूपमा खुलाइएको छैन।

कालिका सिमसार विगतमा आन्तरिक पर्यटकका लागि शान्त र रमणीय स्थलका रूपमा चिनिएको थियो। तर, पछिल्ला दिनमा त्यहाँ हुने गरेको यस्तो आपराधिक गतिविधिले पर्यटकहरू भयभीत भएका छन्। ‘यहाँ झन् लागूऔषध प्रयोगकर्ताहरूको भीड देखिन्छ, अब आउन डर लाग्छ,’ एक स्थानीय पर्यटकले बताए।

स्थानीयवासी र पर्यटकहरूका अनुसार, लागूऔषध प्रयोगकर्ताले अपराधिक गतिविधि गर्न सक्ने जोखिम भएकाले कालिका क्षेत्रमा सुरक्षा व्यवस्थालाई तत्काल कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित निकायले कालिका सिमसार क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राख्दै गम्भीर कदम चाल्नुपर्ने स्थानीयको माग छ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर