




काठमाडौं – सरकारले जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।


सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्। प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको उनले बताए।


त्यस्तै असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्नेलगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रवक्ता गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।




