Aamsanchar

नेतृत्वमा समावेशिता, पत्रकारितामा मर्यादा आवश्यक छ : एकराज गिरी

Author Image
बिहिवार, जेठ २३, २०८२

नेपाल पत्रकार महासङ्घ झापाको नेतृत्व सम्हाल्दै आएका एकराज गिरी हाल झापा जिल्लाका संचारकर्मीहरूबीच सकारात्मक साेच, दृढ नेतृत्व, समावेशी व्यवहार  र व्यावसायिक शुद्धताको पक्षधरका रूपमा परिचित छन्। सङ्घीय संरचना पश्चात् सञ्चारको भूगोल परिवर्तन भइरहेका बेला उनीसँग गरिएको यो विशेष अन्तरवार्तामा नेतृत्व दर्शन, चुनौति, समाधान र सञ्चारको भावी बाटोबारे गहिरो संवाद गरिएको छ ।


अध्यक्ष गिरी सँग साविक मेची अञ्चलका ४ वटा जिल्लाका प्रतिनिधि ४० जना पत्रकारहरूलाई  इलामको करफोकमा आयोजित तीन  दिवसीय पर्यटन पत्रकारिता तालिमको सिलसिलामा आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डेले लिएको अन्तरवार्ता ।

पत्रकार महासङ्घ झापाको नेतृत्व सम्हाल्दा तपाईंको प्राथमिकता के थियो ?
मेरो पहिलो प्राथमिकता सङ्गठनलाई समावेशी, सशक्त र उद्देश्यमुखी बनाउनु थियो। संस्थाभित्र महिला, युवा, लक्षित समुदाय, स्थानीय तहका पत्रकारहरू सबैको आवाज प्रतिनिधित्व होस् भन्ने चाहना थियो। पत्रकारको पेशागत तथा सामाजिक  सुरक्षा, बीमा, तालिम र प्रेस स्वतन्त्रताको सवालमा संस्थागत पहलकदमी जरुरी थियो। पत्रकारकाे क्षमता विकास अर्काे मुख्य आवश्यकता थियो


तपाईँको कार्यकालमा जुन कार्यक्रमहरू भए, त्यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
पत्रकार  महासङ्घको हितमा दीर्घकालीन महत्त्वका धेरै सकारात्मक प्रयास गरियो। महासङ्घलाई सक्रिय र व्यवसायिक पत्रकारहरुकाे मात्र संस्था बनाउन हामीले सदस्यता शुद्धिकरणको कदम सुरु गरेका छौ, सदस्यता वितरण र सदस्यहरूको विवरणको पारदर्शिता, महासङ्घको कार्यालय भवनको स्तरोन्नति गर्ने काम, १ करोड ११ लाखको पत्रकार सहारा  उपचार कोषको स्थापना र कार्यान्वयन, सञ्चारकर्मीकाे क्षमता अभिवृद्धिका लागि तालिम र सरकारका तथा निजी क्षेत्रका विभिन्न तहमा समन्वय पूर्ण भूमिका खेलेका छौ। सदस्यहरूमा एकता र संवादको संस्कृति बढेको छ भन्ने मेरो ठम्याइ छ ।


नेतृत्वमा रहँदा सबैलाई सन्तुष्ट पार्न गाह्रो हुन्छ, तपाईंले कसरी सम्हाल्नुभयो ?
नेतृत्व भनेको निर्णयको क्षमतासँगै सहिष्णु, धैर्यवान र समावेशिताको सन्तुलन हो। काम गर्नेको आलोचना हुन्छ, केही नगर्नेकाे केही हुन्न । आलाेचना सुनियो, सल्लाह सुझाव लिएँ, संवाद गरियो। सबैको भावना र सहभागिताको सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ। म एक्लैले केही गर्न सक्दिनँ, अग्रजकाे मार्गदर्शन र मेराे टिम नै मेरो शक्ति हो। 

हालको पत्रकारितामा देखिएको चुनौती के हो र त्यसको समाधान के देख्नुहुन्छ ?
सबभन्दा ठूलो चुनौती हो—पत्रकारितामा विश्वसनीयता। सामाजिक सञ्जालको प्रभावले छिटो खबर दिने होडमा तथ्य जाँच र सम्पादकीय मर्यादा कमजोर हुँदैछ। मिस इन्फरमेशन र डिस इन्फरमेशनकाे समस्या छ । प्रविधिले अर्को चुनाैति थपेकाे छ । समाधान भनेको मिडिया साक्षरता, प्रविधियुक्त तालिम, सञ्चारमैत्री नीति- कानून  निर्माण र आत्मअनुशासन हो। आचारसंहिता पालना मुख्य कुरा हाे । सत्य, तथ्य, सन्तुलित र जवाफदेहिताको मूल्य कायम राख्न जरुरी छ ।

तपाईँ पत्रकारिता प्रवेश गर्ने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?
पत्रकारिता पेशा हाे, व्यापार हाेइन । याे सेवा र दायित्वमुखी हुन्छ ।  सत्य बोल्ने साहस, जनताको पक्षमा उभिने निष्ठा र निरन्तर सिकाइको भावना आवश्यक छ। आत्मकेन्द्रित सोच होइन, समाज केन्द्रित दृष्टिकोण आवश्यक छ। यदि कसैले धेरै कमाउने साेचेकाे छ भने उसकाे लागि व्यापार ठिक हुन्छ, पत्रकारिता हाेइन । आवश्यक ज्ञान,सीप र क्षमताका साथ अघि बढेमा याे पेशाबाट  बाँच्न सक्ने कमाइ गर्न सकिन्छ । पत्रकारिचाकाे सिद्धान्त , मूल्य मान्यतामा रहेर गरिने पत्रकारिताले सामाजिक प्रतिष्ठा पनि बढाउँछ । 

अन्त्यमा, तपाईंको सपना के छ पत्रकार महासङ्घ झापाका लागि ?

पत्रकारहरूको दीगाे हितमा काम गर्दै महासङ्घलाई प्रभावशाली र पत्रकारहरूको अभिभावक संस्था बनाउने मेरो लक्ष्य हो। पत्रकारितालाई लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास निरन्तर हुनेछ । प्रविधियुक्त तालिममार्फत पत्रकारलाई पेशामा टिक्न सक्ने र व्यवसायिकताकाे अभ्यासमा स्थापित गर्ने साेच छ । सामाजिक सुरक्षाका लागि मेरै नेतृत्वमा दाताहरुकाे सहयाेगबाट  १ कराेड ११ लाख पुर्याइएकाे पत्रकार सहारा उपचार काेषलाई क्रमश २ कराेड रुपैयाँकाे बनाउने सपना छ । यसाे भएमा हाल प्रदान गरिदै  आएकाे सुविधाकाे अङ्क र दायरा बढाउन सकिने छ ।

Views: 266

प्रतिक्रिया (०)