दमक । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्र, जहाँ नगरपालिकाले प्लाष्टिकजन्य फोहोर गाडेर वन क्षेत्र उजाड बनाएको थियो, सोही क्षेत्रमा नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले वृक्षरोपण गरेको छ। वातावरणमा गम्भीर असर पार्ने गरी फालिएको फोहोरको विरुद्धमा माओवादीले हरियाली अभियान थालेको हो।


माओवादी केन्द्र दमकले विगत वर्षदेखि सञ्चालन गर्दै आएको वृक्षरोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिँदै दुई हजार जामुन, अम्बा, कागतीलगायतका फलफूलका विरुवा रोपेको छ। पार्टी अध्यक्ष रवि बस्नेतका अनुसार १७ जेठदेखि सुरु भएको अभियान अन्तर्गत एक सातामै १२ हजारभन्दा बढी फलफूलका विरुवा वितरण तथा रोपण गरिएको छ।


“हम्सेदुम्से वन क्षेत्रमा फोहोरले वातावरण बिगारेको छ। त्यसैले हामीले त्यही स्थानमा फलफूलका विरुवा रोपेर संरक्षण अभियान थालेका छौं,” अध्यक्ष बस्नेतले बताए। उनका अनुसार अभियानलाई सफल बनाउन सामुदायिक वन उपभोक्ता समिति र स्थानीय सरकारको सहकार्य आवश्यक छ।

विरुवा संकलन समिति संयोजक समुन्द्र लामाका अनुसार यस वर्ष आँप, लिची, कटहर, लटहर, बडहर, अमला, अम्बा, कागतीजस्ता विरुवा वितरणमा प्राथमिकता दिइएको छ। “जलवायु परिवर्तनको प्रभावप्रति विद्यार्थीलाई सचेत बनाउन उनीहरूलाई पनि विरुवा वितरण गरिएको छ,” उनले भनिन्।

यस वर्ष माओवादी केन्द्रले कुल २५ हजार फलफूलका विरुवा वितरण गर्ने लक्ष्य राखेको छ। गत वर्ष पार्टीले ५० हजारभन्दा बढी विरुवा वितरण गरेको थियो, जसको केहीले उत्पादन दिन थालेको दमक इञ्चार्ज बेदु गौतमले जानकारी दिए। “फल दिने विरुवा रोप्दा प्रत्यक्ष परिणाम देखिन्छ, त्यसैले हामी उत्साहित भएका छौं,” गौतमले भने।
माओवादी केन्द्रले आगामी वर्षहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।




