काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गर्दै चिनियाँ भाषा प्रशिक्षणको सातौं ब्याच सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गरे।


उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले चिनियाँ भाषा प्रशिक्षणले नेपाल–चीन सम्बन्ध सुदृढ गर्न र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘चिनियाँ भाषाको ज्ञानले नेपाल–चीन सम्बन्धमा सेतुको काम गर्छ। पर्यटन प्रवर्द्धनमा यसको प्रत्यक्ष प्रभाव पर्छ।’


मन्त्री पाण्डेले भाषिक दक्षता हुनु सम्पत्ति जस्तै भएको उल्लेख गर्दै भने, ‘जति धेरै भाषाको ज्ञान हासिल गर्न सकिन्छ, उति नै योग्यता र आत्मविश्वास बढ्छ। भाषा एउटा व्यक्तिलाई अर्को व्यक्तिसँग जोड्ने गहिरो पुल हो।’ उनले चिनियाँ भाषामा दक्ष जनशक्ति सांस्कृतिक दूत बन्ने उल्लेख गर्दै, यस्तो प्रशिक्षणले स्वरोजगार, पर्यटन सेवा सुधार र स्थानीय–अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पार्ने बताए। त्यस अवसरमा मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँ प्रतिनिधिहरूलाई नेपालको प्रकृति र विविधता अवलोकन गर्न समेत आग्रह गरे। ‘नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ।’

जलवायु परिवर्तन र पर्यटन
मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालहरूमा हिउँ घट्दै गएको अवस्थालाई पनि कार्यक्रममार्फत उल्लेख गरे। उनले जलवायु अनुकूलनका प्रयासहरू भइरहेको जानकारी दिए।

चिनियाँ राजदूतको धारणा
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले ७५ औं नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको वार्षिकोत्सवका अवसरमा भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए।‘नेपाल आएका चिनियाँ पर्यटकले आफूले बुझ्ने भाषामै सेवा प्राप्त गर्न चाहन्छन्। यसैले, पर्यटन गुणस्तर सुधारमा भाषा प्रशिक्षणले टेवा पुर्याउनेछ।’ उनले चिनियाँ भाषा सिकेमा विश्वको सबैभन्दा ठूलो पर्यटन बजार (चीन) सँग जोडिने सुनौलो अवसर प्राप्त हुने पनि बताए।
पर्यटन बोर्डका कार्यकारीको भनाइ
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमलाई सांस्कृतिक सम्बन्ध, सेवा गुणस्तर, र दीर्घकालीन सहकार्यमा लगानीको रूपमा हेर्नुपर्ने बताए।
‘भाषा एक शक्तिशाली माध्यम हो — यसले अवरोध हटाउँछ, विश्वास बनाउँछ, र सम्बन्ध गहिरो पार्छ।’ उनका अनुसार, चिनियाँ भाषामा दक्ष पर्यटन पेशाकर्मी अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रतिस्पर्धी बन्न सक्षम हुन्छन्।
चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सन् २०१६ देखि सुरु भएको हो। हालसम्मका ६ वटा ब्याचबाट २४० जना पर्यटन पेशाकर्मी प्रशिक्षित भइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गरिएको सहमति अनुसार कार्यक्रम निरन्तर सञ्चालन भइरहेको हो।
समारोहमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहको पनि उपस्थिति रहेको थियो।




