Aamsanchar

“सिस्नो, निगुरो र सतिघाटु नाचले लोभ्याउँदै पसगाउँ

Author Image
आइतवार, जेठ २६, २०८२

गण्डकी- सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुङको क्होलासोँथर गाउँपालिका-६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ।

प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ। समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन्।

संस्कृतिहरूको पुस्तान्तरण गरिएको यो गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाचलगायत लोपोन्मुख संस्कृति प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले बताए। गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उनले बताए।

साथै प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइँसराइ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताए। २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक १०० जनासम्म राख्न सक्ने क्षमता रहेको उनले जानकारी दिए। शुरुमा तीनवटा घरबाट यहाँ होमस्टे शुरु गरिएको थियो।

गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढ्ङ्गाले छाएका घरलाई संरक्षण गरिएको छ भने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ। गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ।

यहाँका १५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन्। गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ। गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्त्वलाई अझै बढाएका छन्। त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्त्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन्।

शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ। यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन्। यहाँको घरबासलाई गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङसम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्धनका कार्यक्रम पनि शुरु गरेको छ।

सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए।

संघकै सक्रियतामा कास्की, लमजुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन्।

 

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर