




विराटनगर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नै वाम एकता नहुने बताएकी छन्। मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीहरु बीचमा विश्वासको ठूलो संकट भएकाले तत्कालै वाम एकता हुने सम्भावना कम रहेको बताएकी हुन्। उनले वाम एकता समयको आवश्यकताले हुने टिप्पणी गरिन्।


चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको चर्चा छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ, यो समयको आवश्यकताले हुने कुरा हो। वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन, त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन। किनकी विश्वासको ठूलो संकट छ पार्टी पार्टीहरूको बीचमा।’

उनले वामपन्थीहरु बीचमा मात्र नभई देशका ठूला र जिम्मेवार दल, अहिले उदय भएका नयाँ दलहरूबीच राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढ्दा राष्ट्रलाई फाइदा हुने बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले अहिलेको प्रणालीको बारेमा जनताहरु सन्तुष्ट रहेको बताइन्। ‘स्वतन्त्रता एकदमै राम्रो छ। जनताका छोराछोरी आफ्नो दक्षता प्रयोग गरेर काम गर्न सक्ने वातावरण छ। यो भन्दा ठूलो स्वतन्त्रता त के हुन्छ ?’ उनले थपिन्, ‘तर अहिले संसार जसरी विकास भइरहेको छ। हाम्रा जनताले, नवपुस्ताहरुले हेरिराखेका हुन्छन्, त्यसैले विकासको आकांक्षा बढी छ। आर्थिक समृद्धि, परिवार परिवारको आवश्यकता बढिरहेको हुन्छ, अहिलेको पुस्ता त्यत्तिकै बस्न चाहँदैनन्। उनीहरू चाँडै आर्थिक विकास गर्ने व्यग्र प्रतीक्षामा छन्।’




