Aamsanchar

पढाइ, व्यावसाय, जागिर वा विवाह – दुर्व्यसन छुटाउने उपाय होइनन्

Author Image
बुधवार, जेठ २९, २०८२

लागू औषध प्रयोगकर्ता कुनै अपराधी होइनन्, उनीहरू पनि एक किसिमका रोगी हुन्। विश्व स्वास्थ्य संगठनले समेत लागू औषध प्रयोगकर्तालाई उपचारयोग्य रोगीको रूपमा लिएको छ। यस्तो दुर्व्यसनमा परेका व्यक्तिहरू प्रायः मानसिक–भावनात्मक समस्याका शिकार हुन्छन्। जब उनीहरू दुर्व्यसनमा फस्छन्, उनीहरूलाई नियमित रूपमा नसा सेवन गर्नुपर्छ भन्ने अनुभूति हुन्छ। यदि नसा नपाएमा उनीहरूमा शारीरिक र मानसिक असहजता देखिन्छ – जिउ दुख्ने, निद्रा नलाग्ने, बोल्न मन नलाग्ने, झन्झलाहट, रिसजस्ता लक्षण देखा पर्छन्।

त्यसैले उनीहरू आफैंलाई ‘सिक’ महसुस गर्छन् र समाधानका लागि फेरि नशातर्फै फर्किन्छन्।

परिवारको गलत बुझाइ र प्रयास

अनेक परिवारहरूले यस अवस्थालाई बुझ्न सक्दैनन्। वर्षौंदेखि सम्झाउने, विदेश पठाउने, जे माग्यो किनिदिने, डर, धम्की, हप्की, विवाह गरिदिने, पढाइ वा जागिरमा लगाउनेजस्ता प्रयासहरू गर्दा पनि स्थिति झन् बिग्रिएको पाइन्छ।

धेरैपटक विवाहपछि जिम्मेवारी आउने, काममा व्यस्त हुने, साथीसंगी छुट्ने भन्ने सोचले यस्तो उपाय अपनाइन्छ, तर ती सबै प्रयास व्यर्थ सावित हुन्छन्। जागिर पाएर पनि काममा ध्यान केन्द्रित गर्न सक्दैन; व्यापार गरे घाटा लाग्छ; विवाहपछि झन् पारिवारिक तनाव, श्रीमतीको गहना बेच्ने, झगडा, डिभोर्ससम्मका अवस्था आउन सक्छन्।

दुर्व्यसनको समाधान भनेको उपचार र पुनःस्थापना नै हो

दुर्व्यसनको समाधान कुनै व्यवहारिक परिवर्तनले मात्र सम्भव हुँदैन, जबसम्म दुर्व्यसनका कारण उत्पन्न भएका अक्षमताहरू (जस्तै– आत्मनियन्त्रणको अभाव, सामाजिक र पारिवारिक जिम्मेवारी बहन गर्न नसक्ने अवस्था, भावनात्मक अस्थिरता आदि) हटाइँदैन।

उपचारको उद्देश्य भनेको ती अक्षमताहरूलाई सक्षमतामा रूपान्तरण गर्नु हो — जसले गर्दा उसले नियमित दिनचर्या अपनाउन, काम गर्न, निर्णय लिन, नकारात्मक संगत छोड्न र आफ्नो जीवनमा फेरि जिम्मेवार बन्न सक्ने स्थिति विकास गरोस्।

के उपचार सजिलो छ?

उपचार तथा पुनःस्थापना प्रक्रिया सजिलो छैन, तर सम्भव छ। त्यसका लागि:

  • उपयुक्त उपचार केन्द्र छनोट आवश्यक छ,

  • परिवारको साथ र सहकार्य चाहिन्छ,

  • प्रयोगकर्ताको इच्छाशक्ति अनिवार्य हुन्छ।

यसै सन्दर्भमा चेतना नेपाल संस्था दुई दशकदेखि देशैभर लागू औषध दुर्व्यसनसम्बन्धी चेतनामूलक कार्यक्रम, पुस्तक (जस्तै मुक्ति, दिव्य दृष्टि), प्रचार–सामग्री लगायतका माध्यममार्फत सचेतना फैलाउँदै आएको छ।

अत्यावश्यक सम्झनुपर्ने कुरा:

लागू औषध दुर्व्यसनबाट मुक्ति भनेको केवल “नशा छोड्नु” मात्र होइन, त्यो व्यक्ति फेरि आत्मनिर्भर, सामाजिक, नैतिक र जिम्मेवार बन्न सक्ने गरी पूर्ण रूपले पुनःस्थापित हुनु हो।


दुर्व्यसन पत्ता लागेपछि गर्नुपर्ने पाँच काम:

  1. परामर्श लिनुहोस् – विशेषज्ञ वा संस्था मार्फत।

  2. समस्याको पहिचान गर्नुहोस् – शारीरिक, मानसिक र सामाजिक पक्षहरू हेरेर।

  3. हप्की–कुटपिट नगर्नुहोस् – यो अवस्थामा दबावले भन्दा समझदारीले काम गर्छ।

  4. उपयुक्त उपचार केन्द्रमा लैजानुहोस् – प्रमाणित, अनुभवी र अनुशासित स्थान रोज्नुहोस्।

  5. उपचारपछि निगरानी राख्दै सामान्य व्यस्ततामा ल्याउनुहोस् – तर जिम्मेवारीको बोझ नथपिकनै।


के नगर्ने?

  1. विदेश नपठाउनुहोस्।

  2. विवाह नगरिदिनुहोस्।

  3. सवारी साधन वा मोबाइल नदिनुहोस्।

  4. ठूलो जिम्मेवारी नदिनुहोस्।

  5. घरमा नराखी उपचारमा लग्नुहोस्।


निष्कर्ष:

दुर्व्यसनको उपचार भनेको केवल पदार्थ सेवन रोकिनु मात्र होइन, त्यसबाट जीवनमा आएका सम्पूर्ण समस्या र अक्षमताहरूको समाधान हुनु आवश्यक हुन्छ। जबसम्म ती हटाइँदैनन्, तबसम्म प्रयोगकर्ता पुरानै चक्रमा फस्ने खतरा रहन्छ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
(सन्दर्भ सामग्री: मुक्ति तथा दिव्य दृष्टि पुस्तक)

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर