Aamsanchar

नारी सञ्चार गृहबाट भण्डारी र घिमिरे पुस्कृत

Author Image
सोमवार, असार २३, २०८२

बिर्तामोड । पत्रकारितामा जीवन अर्पण गरेकी अम्बिका भण्डारीको दुई दशक लामो सञ्चार साधनाको सम्मानस्वरूप नारी सञ्चार गृह झापाले उनलाई एक लाख १११ रुपैयाँ राशिको ‘नारी सञ्चार साधना सम्मान’ प्रदान गरेको छ।

आईतबार बिर्तामोडमा आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले दोसल्ला ओढाई, प्रशंसा–पत्र र चेकसहित सम्मान गरिन्।

यो सम्भवत प्रदेशस्तरमै सञ्चारकर्मीलाई दिइएको सबैभन्दा ठूलो राशिको पुरस्कार हो, जुन नारी सञ्चार गृहको ११औँ स्थापना दिवसको अवसरमा प्रदान गरेको हो।

अम्बिका भण्डारी केवल पत्रकार मात्र होइनन्—उनी नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष, प्रेस चौतारीकी पूर्व केन्द्रीय सदस्य, राससकी अनुभवी संवाददाता तथा नारी सञ्चार गृहको स्थापकमध्ये एक हुन्। पत्रकारितामा उनले ब्यहोरेको संघर्ष, संवेदना र संवेदनशीलताले उनको योगदानलाई अझ मूल्यवान बनाएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले सञ्चार क्षेत्रलाई समाज परिवर्तनको सशक्त माध्यमको रूपमा उल्लेख गर्दै लैङ्गिक हिंसाविरुद्ध कलमको बल प्रयोग गर्न आग्रह गरिन्। ‘नीति निर्माण तहमा असर पुर्‍याउने खालका सामग्री लेख्न जरुरी छ,’ उनले भनिन्।

त्यसैगरी, आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्यले ‘नारी सञ्चार युवा पत्रकारिता पुरस्कार’  यसपटक पत्रकार चिरन घिमिरेलाई प्रदान गरिएको छ। नयाँ पत्रिका दैनिकमा कार्यरत घिमिरे मेहनती र प्रतिबद्ध युवा पत्रकारको रूपमा चिनिन्छन्। गतवर्ष यो पुरस्कार सुष्मा राजवंशीलाई प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले नयाँ नेतृत्वलाई बधाई दिँदै पत्रकारको सामाजिक सुरक्षा सुनिश्चित गर्न साझा पहलको आवश्यकता औंल्याए। भण्डारीको पत्रकारिता यात्रा र व्यक्तित्वमाथि संस्थाका पूर्व अध्यक्ष भीमा सिवाकोटीले सजीव टिप्पणी गरेकी थिइन्।

यसै अवसरमा नारी सञ्चार गृहले स्थापना गरेको सञ्चार कोषमा हालसम्म ५१ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको जानकारी पनि सार्वजनिक गरियो। तीन साता अघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा कोष सहयोगीहरुलाई सम्मानसहित पुस्तक विमोचन पनि गरिएको थियो।

नयाँ कार्यसमितिसँगै नारी सञ्चार गृह झापाको नेतृत्व अब स्वस्तिका आचार्यले सम्हाल्ने भएकी छन्। यसअघि कोषाध्यक्षको भूमिका निर्वाह गरेकी आचार्य अब प्रमुख भूमिकामा छन्, जसबाट संस्था अझै गतिशील हुने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन माया समतुले गरेकी थिइन भने हाल निवर्तमान बनेकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर