
काठमाडौं – प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन्।

रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए।

बैठक सुरू हुनेवित्तिकै उनीहरूले अवरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए। उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे।
सरकारले भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ। तर रास्वपा र राप्रपाले पूर्वमुख्यसचिव वैरागी नेतृत्वको छानबिन समिति आफूलाई स्वीकार नहुने बताउँदै आएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ। विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका छन् ।
अध्यागमनमा सेटिङ मिलाएर नेपालीहरूलाई भिजिट भिसामा विदेश लैजाने गरेको र लाखौं रकम असुली हुने गरेको आरोप विपक्षी दलहरूको छ।


