

धरान – सुनसरीको इनरुवा नगरपालिका-९ बबिया शिवमन्दिर टोलमा बसोबास गर्ने ४२ वर्षीय सुदीप शर्मा खत्वेले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।


एकतले कच्चि घरमा सुदीपले आइतबार ३२ वर्षीया श्रीमती नविता खातुनको हत्या गरी आफूले पनि आत्महत्या गरेको स्थानीयले जानकारी दिए।

उनीहरूबीच ६ महिनादेखि पारिवारिक झगडा भइरहेको गरेको थियो। आइतबार बिहान मर्निङ वाक गरेर आएका सुदीपले श्रीमती खातुनको घाटी थिचेर हत्या गरी श्रीमतीको साडीको पासो लगाई आत्महत्या गरेको स्थानीयले जानकारी दिएका छन्। १० वर्षदेखि प्रेम विवाह गरेका उनीहरू वर्ष दिनदेखि बबियामा बस्दै आएका थिए।
स्थानीयवासीले दुवैजना मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली परिचालन गरी घटनास्थलको मुचुल्का तयार गरी दुवैको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी योगराज खतिवडाले बताए। उनले घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको बताए।
सुदीपले खातुनलाई १० वर्षअघि नै कान्छी श्रीमतीको रूपमा भित्राएका थिए। काठमाडौंमै बस्दै आएका उनीहरू इनरुवामा आएर बसेका थिए। बरफ र आइस्क्रिम बिक्री गरी जीविकोपार्जन गर्दै आएका सुदीपका जेठी श्रीमती पटि दुई सन्तान रहेका छन्। खातुनले पनि जेठो श्रीमान छाडेर सुदीपसँग विवाह गरेको बुझिएको छ।

