Aamsanchar

हात्ती पीडितले वन कार्यालय घेरे

Author Image
आइतवार, असार २९, २०८२

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा जंगली हात्तीले पटक–पटक घर भत्काउन थालेपछि स्थानीय बासिन्दा चिन्तित हुनुका साथै आक्रोशित समेत बनेका छन्। हात्ती आतंकले दैनिकी नै त्रसित बनेपछि स्थानीयले आइतबार दिउँसो डिभिजन वन कार्यालय रौतहटमा धर्ना दिँदै हात्ती नियन्त्रण गर्न माग गरेका छन्।

जुडिबेलावासीले जंगली हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयले कुनै ठोस पहल नगरेको आरोप लगाउँदै आक्रोश पोखेका हुन्। उनीहरूले हात्ती नियन्त्रण गरेर सुरक्षित स्थानमा सार्नुपर्ने मागसहित कार्यालय घेराउ गरेका थिए।

शनिबार राति मात्र पाँचवटा हात्तीको समूह जुडिबेलामा पसेर चारजना स्थानीयको घर भत्काएको स्थानीय शंकर चौधरीले बताए। स्थानीय दिपा बल, दिलबहादुर राई, लाल बाबू मुक्तान र किरण बम्जनको घर हात्तीले भत्काएको चौधरीले बताए।

उनका अनुसार हात्तीको समूहले हरेक रात घरमा क्षति पुर्‍याउने गरेको छ। ‘रातभरि जाग्राम नगरेको भए मानवीय क्षति हुनबाट कसैले जोगाउन नसक्ने रहेछ, घर र बालबच्चा जोगाउन रातभर जाग्राम बस्नु परेको छ, स्थानीय धनबहादुर पुलामी बताउँछन्।’

अर्का स्थानीय बासिन्दा राजु पाण्डेले डिभिजन वन कार्यालयको भूमिका प्रति प्रश्न उठाउँदै हात्ती नियन्त्रण गर्न नसक्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताए। घटनाको प्रतिक्रियामा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले हामी हात्ती नियन्त्रणका लागि प्रयासरत रहेको जवाफ दिँदै निकुञ्ज र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बताए।

तर स्थानीयले भने तत्कालै हात्ती नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने र दीर्घकालीन समाधानका लागि रणनीति ल्याउन सरोकारवालासँग माग गरेका छन्।

जंगलसँग टाँसिएको जुडिबेलामा वर्षौंदेखि जङ्गली हात्तीको जोखिम रहँदै आएको भए पनि पछिल्ला दिनमा तीव्र रूपमा बस्तीमा पस्ने क्रम बढेकाले स्थिति भयावह बनेको स्थानीयको गुनासो छ। जनधनको क्षति नहोस् भनेर स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्।

सुरक्षा चुनौती, वन प्रशासनको निष्क्रियता र समाधानको अभावबीच जुडिबेलावासीको आक्रोश र पीडा अझ चुलिँदै गएको छ।

 

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर