

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गएको वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । घाँसे मैदानको विनाश नै सुनौलो तोपचरा घट्नुको मुख्य कारण रहेको चराविज्ञ डगौराले बताउनुभयो । उहाँका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्छ ।

संरक्षण क्षेत्र बाहिर घाँसे क्षेत्र नासिदै गएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गरेका छन् । तर खेतीबालीमा विषादीको प्रयोग हुन थालेपछि चराले विषादी प्रयोग गरिएको अन्नबाली खाँदा मर्ने गरेका चराविज्ञ डगौरा बताउनुहुन्छ ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि तोपचराको सङ्ख्या घटेको हुनसक्ने बताउनुभयो । उहाँका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् ।
सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ । सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

