

झापा- झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका ९६ परिवारलाई बुधबार जग्गाको धनीपुर्जा वितरण गरिएको छ।

प्रतिनिधिसभाका सभामुख तथा झापा क्षेत्र नं २ का सांसद देवराज घिमिरेले धनीपुर्जा हस्तान्तरण गर्दै यो कार्यले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई सामाजिक सुरक्षाको आधार बनाउने विश्वास व्यक्त गरे। राजस्व तिरेर योग्य ठहरिएका १२८ घरधुरीमध्ये प्रारम्भमा ९६ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो।

सभामुख घिमिरेले अर्जुनधारामा विद्यमान जग्गासम्बन्धी जटिल समस्याहरू समाधानका लागि कानुनी अड्चनहरू हटाउन जरुरी रहेको उल्लेख गर्दै, वर्तमान संसदमा प्रस्तुत ´भूमिसम्बन्धी विधेयक` यही बर्खे अधिवेशनमा पारित गराउने प्रयास भइरहेको जानकारी दिए। उक्त विधेयक पारित भएमा करिब ९० प्रतिशतभन्दा बढी जग्गा समस्या समाधान हुने उनको दाबी छ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालको पुरानो भूमि ऐनले वर्तमान समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै नयाँ कानुनको खाँचो औंल्याए। उनले भूमि आयोगमार्फत दलित र सुकुम्बासीलाई पौने छ कठ्ठासम्म निःशुल्क र अन्य अव्यवस्थित बसोबासीलाई राजस्वको आधारमा जग्गा दिने नीति रहेको स्पष्ट पारे। विगतमा आयोगहरूले थालनी गरेका अधुरा कामहरू टुंग्याउने अधिकार अहिलेको आयोगले प्राप्त गरेको पनि मन्त्री अधिकारीले जानकारी दिए।
धनीपुर्जा वितरण कार्यक्रम अर्जुनधारा नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षता रहेको थियो। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरी, प्रदेशसभा सदस्य चिन्तन पाठक, नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, सुरक्षानिकाय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो।

