
प्रतिकात्मक फायल तस्वीर ।

काठमाडौं । नेपाली कांग्रेस भित्र युवानायकहरुले सरकार छोड्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन र दबाबलाई नजरअन्दाज गर्दै सरकारमै टिकिरहन चाहने अवस्थामा देखिएका छन् ।
हालैको युवाहरुको सडक प्रदर्शन र निरन्तर बढ्दो आलोचनाबीच पनि देउवाले पार्टीभित्रका नेताहरुको सुझावलाई ग्रहण नगरेको आन्तरिक स्रोतले जनाएको छ । कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक रुपमा नै “कांग्रेसले सरकारमा बसिरहनु हुँदैन” भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरिसकेका छन् ।
थापासहितका अन्य युवानेता तथा केन्द्रीय सदस्यहरुले पनि निरन्तर सरकारबाट बाहिरिने दबाब दिइरहेका छन् । तर, पार्टी सभापति देउवा भने प्रदर्शनलाई ‘पेलेर अघि बढ्ने’ सोचमा रहेको कांग्रेसभित्रै चर्चा भइरहेको छ ।

यसबीच, कांग्रेसभित्र सरकारमा बसिरहनु वा बाहिरिने विषयलाई लिएर आन्तरिक खिचातानी बढ्दो क्रममा छ भने सडकमा जनआक्रोश झनै तीव्र बन्दै गएको छ ।



