

पशुपतिनाथ मन्दिर परिसरमा भएको एक युवकको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।

फागुन ६ गते राति पशुपति–१५ स्थित शिवालय मन्दिरको उत्तरतर्फको दोस्रो मन्दिरभित्र सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा भेटिएका थिए। घटनापछि खटिएको प्रहरीले अनुसन्धानका क्रममा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्दै आएका २३ वर्षीय आशीर्वादनाथ योगी उर्फ सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति क्षेत्रमा बसोबास गर्दै आएका ४८ वर्षीय नीरज नाथलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मृतक गिरी र नीरज नाथ आबद्ध समूहबीच विवाद भएको प्रारम्भिक तथ्यबाट खुलेको छ। प्रत्यक्षदर्शीले बताएअनुसार विवादका क्रममा चिम्टालगायतका वस्तुले आक्रमण हुँदा गिरीको ज्यान गएको देखिएको छ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


