

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस)मंगलबार पुन : खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो ।

यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुनस् खोल्ने निर्णय गरिएको जनाएको बीबीसीले जनाएको छ । साथै, उड्डयन सुरक्षाको उच्चतम स्तर कायम राख्न वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार करिब दुई घण्टा गरिएको पूर्ण बन्द ‘तीव्र रूपमा परिवर्तन भइरहेको क्षेत्रीय सुरक्षा अवस्थाबीच उडान, उडानकर्मी र यूएईको भूभागको सुरक्षा सुनिश्चित गर्न गरिएको असाधारण सावधानी’ थियो ।
यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो। इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीपछि सोमबारबाट सीमित उडान तालिका पुनस् सञ्चालन गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । यो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।
मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भइरहेका छन् ।
यसैबीच, ब्रिटिश एयरवेजले सोमबार मध्यपूर्वका उडान तालिकामा अस्थायी कटौतीको अवधि थपिएको जनाएको छ । यसले अबु धाबी, ओमान, बहराइन, दोहा, दुबई र इजरायलको तेलअविवतर्फका उडानहरू प्रभावित भएका छन् ।
एयरलाइन्सले अवस्थाको निरन्तर समीक्षा गरिरहेको र प्रभावित यात्रुहरूसँग सम्पर्क गरेर वैकल्पिक यात्रा विकल्प उपलब्ध गराइरहेको जनाएको छ ।
ब्रिटिश एयरवेजका अनुसार यात्रुहरूलाई सहयोग गर्न ओमानको मस्कटबाट आठ वटा राहत उडान सञ्चालन गरिएको छ । साथै सिंगापुर र बैंककतर्फ उडान थपिएको छ ।


