Aamsanchar

विराटनगरमा देउवा समूहको प्रदेशस्तरीय भेला आज देखि

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौँ –  नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ ।

पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो ।

देउवा समूहले मङ्गलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ । विराटनगरको बिग होटलमा बिहान ११ बजेदेखि भेला सुरु हुने बताइएको छ ।

नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको जानकारी दिए ।

‘विचार समूहको प्रदेशस्तरीय भेलाको उद्देश्य पार्टी सङ्गठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी अघि बढाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने हो,’ उनले भने ।

वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने उनले बताए ।

देउवा समूहले भोलि (बुधबार)काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको देउवा पक्षीय नेताहरूको भनाइ छ ।

देउवा समूहले प्रदेशस्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्दप्रसाद ढुङ्गानालाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा। प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।

नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिइएको छ ।

यसअघि देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ वैशाखमा दुईदिने भेला बोलाएका थिए ।

भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सहभागी थिए ।

Views: 10

प्रतिक्रिया (०)