Aamsanchar

काँकडभिट्टा नाकामा कडाइ बढ्यो, कार्यान्वयनमा अझै चुनौती

Author Image
शुक्रवार, जेठ १, २०८३

झापा । पूर्वीनाका काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्नेहरूको अनिवार्य परिचयपत्र जाँच गर्न थालिएको छ । यसअघि पनि यस्तो व्यवस्था रहेपनि कार्यान्वयन पक्ष फितलो हुँदा प्रभावकारी चेकजाँच हुन सकेको थिएन । शंकास्पद व्यक्तिबाहेक अधिकांशलाई परिचयपत्र नहेरी नेपाल प्रवेश गर्न दिइँदै आएको अवस्था थियो ।

पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकारको निर्देशनपछि सीमाक्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो । अहिले स्वदेशी तथा विदेशी नागरिकको परिचयपत्र अनिवार्य रूपमा हेरेर मात्र नेपाल प्रवेश गराइँदै आएको छ ।

तर अभिलेखीकरण पक्ष भने अझै कमजोर देखिएको छ । पैदल यात्रुहरूको मात्र नाम–ठेगाना टिपोट गर्ने गरिएको छ भने त्यसका लागि दैनिक २० देखि ६० जनासम्मको विवरण दर्ता गर्न एक जना प्रहरी खटाइएको छ । उक्त व्यवस्था प्रभावकारी बन्न नसकेको स्थानीयको भनाइ छ ।

रिक्सा, मोटरसाइकल तथा अन्य साना सवारीमार्फत दैनिक हजारौं मानिसको आवतजावत हुने गरेको छ । यद्यपि, तीमध्ये अधिकांशको व्यवस्थित अभिलेख राख्ने प्रणाली अझै प्रभावकारी बन्न सकेको छैन ।

उता सरकारले एक सय रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार लाग्ने नियम बनाएको भए पनि व्यवहारिक कठिनाइ देखाउँदै दैनिक उपभोग्य वस्तु भने निर्वाध रूपमा नेपाल भित्रिने गरेको पाइएको छ । अहिले केही कडाइ गरिएपछि त्यस्तो गतिविधिमा कमी आएको बताइए पनि पूर्ण नियन्त्रण हुन सकेको छैन ।

मेची पुल क्षेत्रमा अझै पनि वारीपारी सामान ओसारपसार गर्नेहरूको भीड देख्न सकिन्छ । दिउँसो सामानका पोका थुपारेर बस्ने र साँझपख भन्सार तथा सुरक्षाकर्मीको सहयोगमा सामान नेपाल भित्र्याउने क्रम पहिलेकै शैलीमा चलिरहेको स्थानीयको गुनासो छ ।

“सामान रोक्न खोज्दा आफैमाथि आइलाग्ने अवस्था हुन्छ, त्यसैले कर्मचारी र प्रहरी पनि डराउने गर्छन्,” एक कर्मचारीले बताए ।

सरकारले नीति तथा व्यवस्थापन सुधारको कुरा गरिरहे पनि फिल्ड तहमा भने बिग्रिएको थिति सुधार्न चुनौतीहरू धेरै देखिएका छन् ।

नाकाबाट हुने चुहावट रोक्न सिसिटिभी क्यामेरा जडान तथा एकद्वार चेकजाँच प्रणाली लागू गर्ने तयारी भइरहेको जनाइएको छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा भन्सार कार्यालयले संयुक्त रूपमा जाँचको काम गर्दै आएका छन् ।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर