Aamsanchar

अमेरिकी कूटनीतिज्ञ हार्करद्वारा सगरमाथाको आरोहण

Author Image
शुक्रवार, जेठ ८, २०८३

ओखलढुङ्गा –  नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख (पब्लिक अफेयर्स चीफ)माइक हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

जेठ ७ गते बिहान ९:१० बजे उनले सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । यससँगै हार्कर सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन् ।

अमेरिकाको आगामी २५०औँ स्वतन्त्रता दिवस (फ्रीडम २५०) को पूर्वसन्ध्यामा भएको यो ऐतिहासिक उपलब्धिलाई अमेरिकी कूटनीतिक वृत्त र पर्वतारोहण क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ। हार्करको यो साहसिक कदमले अमेरिकी नागरिकको दृढ संकल्प, साहस र अन्वेषणको भावनालाई उजागर गरेको अमेरिकी दूतावासले जनाएको छ। उनले यो आरोहण पूर्ण रूपमा आफ्नो व्यक्तिगत क्षमता र कार्यक्षेत्र बाहिरको निजी प्रयासमा गरेको जनाइएको छ ।

 

कूटनीतिज्ञ हार्करको यो सफलता दुई दशक लामो साधनाको प्रतिफल हो। सन् २००६ मा नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर (एबीसी) को ट्रेकिङ गर्दा उनको मनमा नेपाल र नेपाली हिमालप्रति विशेष सामीप्य र लगाव बढेको थियो। सोही समयदेखि सुरु भएको उनको पर्वतारोहणको सपना २० वर्षपछि सगरमाथाको सफल आरोहणसँगै साकार भएको दूतावासको भनाइ छ।

यो आरोहणले विगत ८ दशकदेखि कायम रहेको नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ। ‘साहसिक र दिगो पर्यटनले कसरी विश्वव्यापी सम्बन्धहरू निर्माण गर्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन प्रत्यक्ष योगदान पुर्‍याउँछ भन्ने कुरालाई यसले स्थापित गरेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सगरमाथा आरोहणको यस ऐतिहासिक घडीमा अमेरिकी दूतावासले नेपालको शेर्पा समुदायको अद्भूत वीरता, विश्वस्तरीय विशेषज्ञता र समर्पणलाई विशेष रूपमा सम्मान गर्दै उच्च प्रशंसा गरेको छ। शेर्पा सहयोगी र गाइडहरूको अद्वितीय साहस विना हिमालय क्षेत्रमा कुनै पनि आरोहण सम्भव नहुने सत्यलाई दूतावासले स्वीकार गरेको छ।

Views: 12

प्रतिक्रिया (०)