Aamsanchar

विद्यालयको बस बन्यो विपत्ति, सानो जीवन चुँडियो

Author Image
बिहिवार, जेठ १४, २०८३

झापा- गौरादह नगरपालिका–७, फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स्तब्ध र आक्रोशित बनेका छन् ।

प्रहरीका अनुसार सर्जक एकता बोर्डिङ स्कुलको को। १ ख। ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई घरमा ओराल्ने क्रममा किचेको हो । बालक उत्रिन नपाउँदै बस अगाडि बढाउँदा उनी लडेर चक्कामुनि परेका थिए ।

साँझ करिब ५ बजे भएको उक्त दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि बस र चालक गौरादह–७ का ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।

घटनापछि गाउँभर शोक छाएको छ । बालकको मृत्युले परिवार विक्षिप्त बनेको छ भने स्थानीयवासीले विद्यालय प्रशासन, चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । “साना बालबालिका बोक्ने बसमा अझ बढी सतर्कता आवश्यक हुन्छ,” स्थानीय टङ्क शिवाकोटीले भन्नुभयो ।

स्थानीयले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । विद्यालयले बालबालिकाको सुरक्षामा विशेष ध्यान नदिए यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर