Aamsanchar

समाजसेवा र व्यवसायमा स्थापित नाम शेरबहादुर

Author Image
शुक्रवार, साउन ३०, २०७७

बिर्तामोड । पञ्चायतकालको अन्तिम कार्यकालका जनपक्षीय वडा अध्यक्ष शेरबहादुर थापा सो जिम्मेवारी सकिएपछि व्यावसायिक जीवनमा प्रवेश गरे । त्यो बेला एकदमै कम मानिसले सुरु गरेको निर्माण व्यवसायमा थापाको यात्रा सुरु भयो, जो आजका दिनसम्म पनि निरन्तर छ ।

झापा घैलाडुब्बा गाउँ पञ्चायतका ७ नम्बर वडाका अध्यक्ष रहेका बेला २३ वर्षका मात्र थिए । ८ वर्षको उमेरमा तेह्रथुमबाट २०२८ सालमा घैलाडुब्बा झरेको थापाको परिवार समयक्रमसँगै हालको कनकाई ९ खाडीबस्तीमा स्थायी रुपमा बसोबास गर्दै आएको छ ।

निर्माण व्यवसायमा प्रवेश गर्दै गर्दा थापासँग अनेकौँ सम्झनाहरु छन् । त्यो बेलाको आर्थिक अभाव, पहुँच नपुग्दा भोग्नु परेको पीडा, ठुला भनाउँदाहरुबाट हेपिनुपर्ने अवस्था उनी अझै बिर्सन सक्दैनन् । आफ्नो फर्म नभएपछि उनले दिलभूषण पाठकको पाठक निर्माण सेवामार्फत थापाले व्यवसाय सुरु गरे ।

व्यवसाय जीवनमा ४७ करोड रुपैयाँसम्मको आयोजनाको काम गरेका झापा प्रतिष्ठित व्यवसायी थापाले पहिलो काम ५५ हजार रुपैयाँमा गरेका थिए । देवीबस्तीमा अदुवा खोलाको काठको पुल बनाएका थापाले त्यसयाता कहिल्यै पछाडि फर्केर हेर्नु परेन । काम गर्दा असल नियतले गर्यो भने जीवनमा कहिल्यै दुःख नपाइने उनले बुझेका छन् ।

सुरुवाती दिनमा निर्माण व्यवसाय क्षेत्रमा गुण्डगर्दी हावी रहे पनि अहिले आएर सोको अन्त्य भएको उनी बताउँछन् । कामै नगरी धम्क्याएर पैसा कमाउनेहरु प्रविधिको विकाससँगै हराउन थालेको उनको अनुभव छ । ‘पहिले त फर्म बनाउनै मुस्किल थियो’, थापाले भने, ‘उस्तै परे कुटाइ खानु पर्ने अवस्था पनि आउँथ्यो ।’

कामको सिलसिलामा आफूमाथि अपमान भएपछि उनले जीवनभर आफ्नो नाममा फर्म दर्ता नगर्ने वाचा गरे । हालसम्म पनि उनको नाममा फर्म छैन ।  तर, जेठो छोरा मौषमले बुवाको काम र प्रगति देखेपछि उनलाई थाहै नदिई फर्म गरेको थापाले सुनाए । झापाली विलडर्स नामको फर्म मार्फत आजभोलि थापाले काम गर्दै आएका छन् । झापाली विल्डर्सको टर्न ओभर १० करोड रुपैया रहेको छ ।

थापासँग २०४६ सालमा एकपटक भएको तीतो घटना छ । तत्कालीन जिविस भवनमा उनलाई घाइते बनाइयो । त्यति बेलाका नाम चलेका भनिएकाहरुले उनको हात समतेर बटारेर मर्काइदिएका थिए । तर, अहिले त्यस्तो अवस्था छैन । प्रविधिले गर्दा घरमै बसर पनि टेन्डर प्रक्रियामा सहभागी हुन सकिने थापाले बताए ।

झापाका स्थापित तथा अग्रज व्यवसायी थापा नयाँ पुस्ताका निर्माण व्यवसायीलाई कामको गुणस्तरमा सम्झौता नगर्न सुझाव दिन्छन् । गुणस्तर घटाएर पैसा कमाउने उद्देश्य बोकेर आउनेहरु पलायन हुने उनी बताउँछन् । त्यस्तै, आफू स्वयम् निर्माणस्थलमा खट्ने गरेकाले पनि थापाको काम हालसम्म विवादमा परेको छैन । लहडमा भन्दा पनि अध्ययन र प्राविधिक ज्ञान प्राप्त गरेर मात्र यो क्षेत्रमा आउन उनको सुझाव छ ।

थापाले हालसम्म बाटो ग्राभेल तथा कालोपत्रे, पुल, भवन, भीर पहरा फोड्ने काम गरिसकेका छन् । उनको सम्झनामा हालसम्म १३०० किलोमिटर बाटो निर्माण र ६ वटा पक्की पुलको काम गरिसकेका छन् । आधा दर्जन बाटो र त्यति नै संख्यामा पुल निर्माणाधीन अवस्थामा छन् ।

तीन दशक लामो व्यावसायिक जीवनमा उनले ठाउँ परिवेशअनुसार फरकफरक मान्छेको अनुभव भोगेका छन् । सहर बजारमा भन्दा पहाड र ग्रामीण क्षेत्रका मानिस धेरै नै सहयोगी रहेको उनी बताउँछन् । ग्रामीण क्षेत्रका मानिसबाट साथ सम्मान पाइन्छ, उनले भने, किनभने उनीहरु विकटमा हुन्छन्, उनीहरुलाई विकास चाहिएको हुन्छ । सहरियाहरु चाहिँ अटेरी हुने र काम नसकिए पनि हिँड्ने गर्ने गरेकाले उनलाई दुःखी बनाएको छ ।

सरकारप्रति उनको एउटा गुनासो छ । सम्झौताअनुसार समयमा काम नसक्दा सरकारले जरिवना गर्छ, यो कुरामा उनी सहमत छन् । तर, समयमै काम सकिए पनि सरकारले सम्झौताअनुसार भुक्तानी नदिनु विडम्बनापूर्ण रहेको उनको भोगाइ छ । ‘पैसा छैन भने किन काम निकाल्नु’, उनले भने, ‘समयमा पैसा नपाउँदा हाम्रा लागत र समय बढ्छ, त्यसको हिसाब कसले दिने ?’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर