Aamsanchar

भरतपुर अस्पतालका प्रमुखसहित पाँचजनामा कोरोना सङ्क्रमण

Author Image
आइतवार, साउन ३२, २०७७

भरतपुर ।कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।

आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।

अस्पतालका सङ्क्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन् । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् ।

भरतपुर क्षेत्रमा रोगको सङ्क्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर