Aamsanchar

किराना सामान व्यवसायी दाजु–बहिनी मृत फेला

Author Image
शनिवार, भदौ २०, २०७७

प्रतिकात्मक फायल तस्वीर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ बर्षिया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।

घटनाको प्रकृति हेर्दा तीन÷चार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुगेका प्रहरी नायब उपरिक्षक चिमरियाले बताए । “यही भदौ १७ गते दिउँसो साढे ४ः०० बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्”, उनले भने, “अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।”

घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोस टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए ।

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर