Aamsanchar

नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र

Author Image
शुक्रवार, असोज २, २०७७

काठमाडौँ । चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् ।

२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ ।

पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।

रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो ।

कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदी र चित्र मिजारले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर