Aamsanchar

सन्तान हुने बनाईदिन भन्दै आएकी महिलालाई खिर खुवाएर बलत्कार प्रयास गर्ने धामी पक्राउ

Author Image
शनिवार, असोज ३, २०७७

विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै विवाहित महिलामाथि बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् । बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएकी एक महिलामाथि बलात्कारको प्रयास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै महिलामाथि बलात्कारको प्रयास भएको उनको भनाइ छ ।

‘बिहे गरेको छ वर्षसम्म पनि सन्तान नभएपछि निराश बनेर पुगेकी एक महिलालाई झरफुक गरेर ठीक बनाइदिन्छुभन्दै धामीझाँक्रीको काम गर्ने व्यक्तिले आफ्नै घरमा बलात्कार प्रयास गरेको खुलेको छ,’ एसपी खड्काले भने, ‘सन्तानको आशमा महिला आफूसँग सशरण परेको मौका छोप्न खोजेको पाइयो ।’ भदौ २५ गते बिहान महिलामाथि रामले घरकै पूजा कोठामा लगेर बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ । झारफुक गर्दै सन्तान हुने बनाइदिन्छन् भनेर आफन्तले सल्लाह दिएपछि महिला आफ्ना श्रीमानलाई लिएर धामीझाँक्रीको काम गर्दै आएका रामको घरमा पुगेको पाइएको छ । त्यसक्रममा एक लिटर दूधमा खीर पकाउन लगाउँदै खान दिएर आफूमाथि बलात्कार गर्न खोजिएको जानकारी महिलाले प्रहरीलाई दिएकी छन् । उक्त खीर महिलालाई नै पकाउन लगाइएको थियो ।

झारफुकको बहानामा महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेका बौना राम ।
खीर पाकिसकेपछि श्रीमानलाई खानलाई भनेर खीर दिएर बाहिर पठाइएको र आफूलाई पूजा कोठामा लगेर खान दिएको पीडित महिलाले बताएकी छन् । विभिन्न कुरा मिसाएर बनाएको खीर खान दिएसँगै आफू शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेपछि अँगालो हाल्दै आफैले कपडा खोलेर बलात्कारको प्रयास गरेको उनले बताइन् ।

घटना महिलाकै श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए । पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास भएको खुलेको जानकारी प्रहरीले दिएको छ । पक्राउ परेका पुरुषविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । श्रोत : पूर्वैली न्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर