Aamsanchar

रेल संचालन गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको १२९ कर्मचारीका लागि ३२ हजारको आवेदन

Author Image
बुधवार, असोज १४, २०७७

 जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका छन्। रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो। आवेदन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेका हुन्।  ‘करिब ३२ हजारले आवेदन बुझाएका छन्। कुन पदमा कति जनाले आवेदन दिएको कुरा अहिले भन्‍न सकिँदैन’, कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराई भन्छन्,‘छुट्याउने काम अहिले भइरहेको छ।’ कम्पनीले अन्तर्वार्ताको समय तोक्न सकेका छैन। महाप्रबन्धक भट्टराईले चाँडै अन्तर्वार्ताको मिति सार्वजनिक गर्ने बताए।

पहिलो चरणमा शैक्षिक योग्यता र अनुभवका आधारमा उपयुक्त उम्मेदवार चयन गरिने उनले बताए। लगत्तै अन्तर्वार्ता लिएर १२९ कर्मचारी नियुक्त गर्ने भट्टराईले जानकारी दिए। जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चालन दशैं अगावै गर्ने तयारी भइरहेको छ। भारतबाट नेपाल सरकारले खरिद गरेको दुई रेल सेट नेपाल भित्रीसकेको छ।  अहिले रेल इनर्वा स्टेशनमा राखिएको छ। कर्मचारी अभाव र बोर्डर क्रस सञ्चालन गर्नुपर्ने सम्झौता भारतसँग गर्न बाँकी छ।

‘कोरोनाका कारण बोर्डर क्रस रेल सञ्चालन गर्न समस्या हुनसक्छ। यद्यपी सिमा क्षेत्रसम्म भएपनि रेल सञ्चालन गर्ने तयारीमा जुटेको छौं’, महाप्रबन्धक भट्टराई भन्छन्, ‘चाँडै रेल सञ्चालनमा आउनेमा ढुक्क भए हुन्छ।’

‘सोर्स नचले जागिर हुनसक्छ’

रेल्वे कम्पनीमा जागिर गर्ने आशा बोकेरै आवेदन बुझाएको जनकपुरधाम उपमहानगर ४ का मुकेश ठाकुरले बताए। टिकट विक्रेता सहायक पदका लागि आवेदन बुझाएका उनले भने, ‘कसैको सोर्स लागेन भने जागिर हुनसक्छ। तर नेताहरुको सोर्स चल्यो भने थाहा छैन।’ ‘अहिले जहाँ पनि सोर्स हुनेहरूलाई नै जागिर हुन्छ’, उनले भने, ‘त्यसैले आवेदन बुझाउने मन थिएन। यद्यपि घर परिवारको दबावले आवेदन बुझाए। हेरौं के हुन्छ। किस्मत(भाग्य)ले साथ दिएमा जागिर पाउँछु।’

यस्तै गार्डका लागि आवेदन बुझाएका शहिदनगरका दिवाकर यादवले आफ्नो सोर्स लगाइदिने कोही नभएकाले जागिर हुनेमा आशंका व्यक्त गरे। उनले भने, ‘सबैले सोर्सकै कुरा गर्छन्। मेरो त सोर्स लगाइदिने कोही छैन। त्यसैले जागिर हुन्छ कि हुदैन थाहा छैन।’ रेल्वे कम्पनीमा जागिरका लागि आवेदन बुझाएकाहरु प्रदेशदेखि संघीय सरकारका मन्त्रीहरु समक्ष सोर्स लगाउन थालेका छन्। कतिपयले अहिलेदेखि नै नेताहरुलाई धाउन थालेका छन्।  नेकपाका एक नेता भन्छन्, ‘रेल्वेमा जागिरका लागि दैनिक १०-१५ जनाको फोन आउँछन्। कसलाई के भन्‍नु।’ संघीय सरकार मातहत रेल्वे विभाग रहेकाले जागिरका लागि सोर्स लगाइदिन आवेदनकर्ताले भन्‍ने गरेको उनले सुनाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर