Aamsanchar

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृत भेटिए

Author Image
मङ्गलवार, असोज २०, २०७७

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक व्यारेजबाट तलपट्टि बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताउनुभयो ।

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टि बाटोको ढिकमा उधोमुन्टो भइ अर्को अन्दाजी १२ वर्षको भाले गैंडा मृतावस्थामा फेला परेको छ । मृत गैंडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।

गैंडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताउनुभयो । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा अहिले ६०५ गैंडा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर