एजेन्सी –चीनले चार दशकदेखि निर्यातमा निर्भर अर्थतन्त्रको स्वरुप बदल्ने भएको छ। राष्ट्रपति सी चिनफिङले अब घरेलु बजारलाई नै प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्रको स्वरुप कायम राख्न नयाँ रणनीति अघि सारेका हुन्। नयाँ योजनालाई चिनफिङले ुड्युल सर्कुलेशनु उपमा दिएका छन्। यो शब्द यतिखेर चीनको आधिकारिक विज्ञप्ति, भाषण र सरकारी मिडियाका सामग्रीको हिस्सा बनिसकेको छ। अर्थव्यवस्थामा चीनले अघि सारेको पछिल्लो मोडलबारे विस्तृतमा जानकारी आइनसकेको बीबीसीले उल्लेख गरेको छ। तर, घरेलू बजारलाई चलायमान बनाउँदै देशभित्रै उत्पादन, वितरण र खपत बढाउने यसका मूलभूत उद्धेश्य रहेको बुझिएको छ।
साथै, विश्वभर व्यापार विस्तार गर्न पनि यो रणनीतिले सघाउने चीनले अपेक्षा गरेको छ। खपतमा आधारित आर्थिक विकासलाई चीनले सन् २००८ देखि नै अर्थव्यवस्थाको पुनर्गठन नीतिका रुपमा व्याख्या गर्दै आएको छ। निर्यात र विदेशमा लगानी गर्ने मोडेलले लामो समयसम्म आर्थिक स्थिरता कायम हुन नसक्ने चीनले विश्लेषण गरिसकेको छ। पछिल्लो आर्थिक रणनीतिलाई चीनले निकै तीव्र गतिमा कार्यान्वयन गर्न थालेको बताइएको छ। जारी अन्तरराष्ट्रिय परिस्थितिले चीनको विकासमा सहयोग पुर्याएपनि अहिले यसमा परिवर्तन देखिएको छ। अमेरिका र युरापेली मुलुकहरुसँग व्यापार तनाव हुँदा चीनको अर्थव्यवस्थामा असर देखिने गरेको छ।
अब चीनले घरेलु बजारमै निर्भर अर्थतन्त्र विकास गर्ने र बाह्य असरसँग सामना गर्नेछ। अमेरिकासँग चलिहेको व्यापार युद्ध, आफ्नो पकडबाट उम्किरहेको निर्यात श्रृंखला, बढ्दो व्यापार संरक्षणवाद तथा कोरोना महामारीका कारण निम्तिएको बस्तु तथा सेवाको माग गिरावटका कारण पनि चीनले आन्तरिक बजारलाई प्राथमिकतामा राखेको बुझिएको छ। यो रणनीति अघि सारेपनि विश्वको दोस्रो अर्थव्यवस्था बनेको चीनलाई बाह्य जगतमा फेरि स्थापित हुन मुस्किल पर्ने विश्लेषण गरिएको छ।