Aamsanchar

तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप , दुई प्रहरी घाइते ,चार राउण्ड हवाई फायर

Author Image
बुधवार, असोज २८, २०७७

सप्तरी । भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच सप्तरीमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । राजविराज नगरपालिका वडा नम्बर १३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर प्रहरी र तस्कर समूहबीच झडप भएको हो । भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए । घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।

उनका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको एसपी धमलाले बताए । झण्डै ७० जना स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको एसपी धमलाले बताए । यद्यपि त्यसबीचमा तस्करहरु सामानसहित फरार भएको उनको भनाई छ । फरार भएकाहरुको खोजी भइरहेको एसपी धमलाले बताए ।

तस्करीको सामान आइरहेको पूर्वसूचना पाएर जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी कोइलाडी बर्साइनको टोली त्यस ठाउँमा खटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर