Aamsanchar

पालिका अध्यक्षमाथी स्थानिय द्वारा कुटपिट, दुई पक्षको झडपमा १२ जना घाइते

Author Image
बिहिवार, असोज २९, २०७७

घाईते अवस्थामा पालिका अध्यक्ष विष्ट ।

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका स्थानीयले अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट गरेका छन् ।

गाउँपालिकाको केन्द्रका विषयमा विवादका कारण गाउँपालिकाका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका थिए । तर, अध्यक्ष विष्ट ताला खोल्न गएको भन्दै स्थानीयले उनीमाथि कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्षले ताला खोलेको भन्दै स्थानीय आक्रमणमा उत्रिएका थिए । बुधबार साँझ भएको झडपका क्रममा गाउँपालिका अध्यक्ष विष्टसहित १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा गाउँपालिका अध्यक्ष विष्टसहित अन्य ५ जना प्रहरी छन् भने ६ जना स्थानीय छन् ।

अहिले गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित रौलेश्वर कठ्यागौंडमा रहेको छ । ९ पुस २०७६ को कार्यपालिकाको बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेको थियो ।

तर, कठ्यागौंडका स्थानीय र व्यापारीहरुले भने गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोध गर्दै आएका थिए । गाउँपालिकाको केन्द्र सार्ने निर्णयविरुद्ध संघर्ष गर्न भन्दै स्थानीय अर्जुन मडैको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको थियो ।

यसबीच केही दिन अगाडि बसेको कार्यपालिका बैठकले गाउँपालिकाका केन्द्र सार्ने भनिएको ठाउँमा नयाँ संरचना निर्माण गर्न १५ लाख रुपैयाँ बजेट छुट्याउन निर्णय गरेको हल्ला चलेपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए ।

विरोधमा उत्रिएका स्थानीयले सोमबार साँझ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि मंगलबार र बुधबार गाउँपालिकाका अध्यक्षसहित पदाधिकारी र संघर्षरत पक्षबीच छलफल भएको थियो ।

छलफलबाट कुनै निष्कर्ष ननिस्एिकपछि गाउँपालिका अध्यक्ष विष्टले मुचुल्का तयार पार्दै गाउँपालिकाको कार्यालयमा लगाइएको ताला तोड्न खोजेका थिए ।

ताला तोड्न खोजेका बेला नै संघर्षरत पक्षका व्यक्तिहरुले अध्यक्ष विष्टमाथि ढुङ्गाले प्रहार गरेका बुझिएको छ ।

दुवै पक्षबीच भएको झडपमा घाइते भएका सबैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुको अहिले स्थानीइ स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ ।  श्रोत : दैनिक अनलाइन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)