Aamsanchar

सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाडौं । सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो । यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए । ‘अहिले बसपार्कमा पुगेर अग्रिम टिकट माग्दा बस कम्पनीले दिइरहेका छन्,’ उनले भने, ‘औपचारिक निर्याय गरेर विगतमा जसरी यो वर्ष खुलाउनपर्ने अवस्था देखिएन ।’

बस कम्पनीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् । विभागले भने बढी भाडा लिइए ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ । काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, काटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएकाले बढी भाडा लिए त्यहाँ गएर खबर गर्न पनि सकिने प्रवक्ता भुसालले बताए । यात्रु आफैंले पनि सचेत भएर बढी भाडा तिर्न नहुने भन्दै भुसालले बढी भाडा लिनेमाथि विभागले पनि अनुगमन गरेर कारबाही चलाइरहेको दावी गरे । ‘हामीले हिजोअस्ति मात्रै पनि १७–१८ वटा गाडीलाई कारवाही गर्‍यौं,’ उनले भने,’ठगिने अवस्था भए ट्राफिकको हटलाइन १०३ मा पनि सम्पर्क गर्न सकिन्छ ।’

व्यवसायीहरुले सुरुबाटै यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताउँदै आएका थिए । आधा सिटमा मात्रै यात्रु बोक्दा पनि पर्याप्त यात्रु नपाएकाले पहिल्यै टिकट बुक गर्न आवश्यक नभएको तर्क उनीहरुको थियो । विभागले भदौ २० गतेबाट बुकिङ खोल्न आग्रह गरे पनि व्यवसायीले अस्वीकार गर्दै आएका थिए । विगतमा दशैंमा बेला १ लाख व्यक्तिको आवात–जावत हुने दसैँको यो समयममा अहिले मुस्किलले करिब २० हजार व्यक्ति मात्रै आवत–जावत गरिरहेकाले बुकिङ खोल्न आवश्यक नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । यद्यपि कतिपय कम्पनीले गाहकको सुविधाका लागि अग्रिम बुकिङ खोलेको दाबी महासंघको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)