Aamsanchar

सरकारको बेइज्जत भएको भन्दै खुलामञ्चमा खाना नखुवाउन मेयर द्वारा निर्देशन

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन  निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरहरुको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनको बताए । ‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौँ,’ उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्त ठाउँमा खान वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । ‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर छ, यो त ठीक भएन नि,’उनी भन्छन् । यता, ढुंगाना खाना खुवाउने ठाउँमा फोहोर नगरेको दाबी गर्दै फोहोर भएको भए अझ सफा गर्न तयार रहेको बताउँछन् ।

महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ । ‘सरकारको बेइज्जत हुने गरी सार्वजनिक स्थलमा किन खाना खुवाउनुपर्‍यो ?,’ती अधिकारीले भने,’कसैले खान पाएका छैनन् भने हामी मानव सेवा आश्रममा लगेर खुवाउँछौं, त्यहाँ हामीले करोडौं लगानी गरेका छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)