Aamsanchar

नेकपाका अध्यक्ष दाहाल सहितका नेताहरू बालुवाटार, ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्र

Author Image
शनिवार, कार्तिक २२, २०७७

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि सचिवालयको बहुमतको सदस्य प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित बालुवाटार पुगेको हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी मुख्यालय धुम्बाराहीमा छलफल गरेका छन्। ​​शुक्रबार पनि पार्टी मुख्यालयमा अनौपचारिक बैठक बसेको थियो। पार्टीको औपचारिक बैठक राखे पार्टी विभाजनको बिन्दु नै त्यही हुने प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि आज पनि उनीहरुले छलफल गरेका हुन्।

अध्यक्ष दाहालले सचिवालयका सबै सदस्यलाई बैठकमा आउन जानकारी गराए पनि ओली खेमाका नेताहरू बैठकमा सहभागी भएका थिएनन्। बैठकमा अध्यक्ष दाहालले पार्टी एकता जोगाउनका लागि आफूले प्रधानमन्त्री ओलीसँग पटक(पटक छलफल गरेको भए पनि सहमति जुट्न नसकेको ब्रिफिङ गरेका थिए।

अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री ओली खेमाका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल भने बैठकमा सहभागी छैनन्। ​नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयलबीचको भेट र पर्सामा मुकेश चौरिसयाको हत्या लगायत घटनाले विवाद उत्कर्षमा पुगेको छ।

भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएकै कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक विमतिको कारणले पार्टी विभाजनको संघारमा पुगिसकेको अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी एकताको पक्षमा उभिन एकमत भइसकेका छन्। उनीहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन पार्टीको स्थायी कमिटीको बैठक समेत बस्न माग गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)