

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाउनुभएको थियो।

प्रधानमन्त्रीले बोलाएपछि नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको छ । छलफलका क्रममा प्रधानमन्त्रीले लामै कुरा गरे पनि ठोस प्रस्ताव भने नगरेको बैठकमा सहभागी नेता भीम रावलले बताउनुभयो । उहाँले आजको भेटमा पार्टीका समस्याहरुबारे आफूहरुबीच विचार आदान प्रदान मात्रै भएको बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी फुटको संघारमा रहेको बताउँदै फुटबाट जोगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । नेता नेपालले त्यसो हो भने रोक्ने जिम्मा तपाईंकै हो भन्दै ठोस प्रस्ताव ल्याउन आग्रह गर्नुभएको थियो । तर विवाद समाधानका लागि प्रधानमन्त्रीबाट कुनै ठोस प्रस्ताव नआएको नेता रावलले बताउनुभयो । आफूहरुले स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएकोबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाउनुभएको थियो । मिर्गौला प्रत्यारोपणपछि आफ्नो जोश झनै बढेको र फुलेका जुँगा कालो हुन थालेको प्रसंग प्रधानमन्त्रीले बैठकमा सुनाउनुभएको नेताहरुले बताएका छन् । नेता रावलका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीलाई कुनै हालतमा फुट्न दिन नहुनेमा जोड दिनुभएको थियो । ओलीले शनिबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पनि पार्टीलाई फुट्न नदिने दृढता व्यक्त गर्नुभएको थियो ।
हुन त प्रधानमन्त्री ओलीसहित अर्को समूहका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले पनि पार्टी कुनै हालतमा फुट्न नदिने दृढता व्यक्त गरिरहेका छन् । तर व्यवहारमा एकले अर्को पक्षलाई खेद्ने कसरत चलिरहँदा विभाजनलाई प्रसय मिलिरहेको छ । प्रधानमन्त्रीले आफूलाई एकताको पक्षपाती भनिरहे पनि काठमाडौँमै पूर्व एमाले त्यसमा पनि ओली गुटको जिल्ला भेला हुनुले विभाजनलाई मलजल गरेको छ ।

