

सङ्खुवासभा। प्रधानमन्त्री केपी शर्मा ओली सङखुवासभा आउनुहुने भएको छ । कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा(अरुण तेश्रो)को अनुगमन गर्न आउनुहुने भएको हो । प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको छ ।

बिहान ८ बजे हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किमाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्नुहुनेछ । उक्त राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमनगर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान आउनुहुने कार्यक्रम रहेको समेत जिल्ला समन्वय प्रमुख शाक्यले जानकारी दिनुभयो । फ्याक्सिन्दाको कार्यक्रम सम्पन्न पश्चात दिउँसो ३ बजे प्रधानमन्त्रीओली काठ्माण्डौ फर्किनुहुनेछ ।
प्रम ओलीको जिल्ला भ्रमण ब्यवस्थापनका लागि आईतबार जिल्लाका सरोकारवालाको बैठक बसेको छ । समन्वय समितिको अध्यक्षता तथा जिल्लाका सांसदहरु, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरु बैठक बसेर भ्रमण ब्यवस्थित बनाउने निर्णय गरेका छन् ।
किमाथाङ्कामा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बाभोटे लगायतका जनप्रतिनिधि र स्थानीय नागरिकले प्रम ओलीको स्वागत गर्ने तयारी गरिएको छ । त्यस्तै, च्याम्ताङमा त्यहाँका वडा अध्यक्ष र स्थानीय नागरिकहरुले स्वागतगर्ने छन् भने फ्याक्सिन्दा दोभानमा जिल्लाका जनप्रतिनिधि र अरुण तेश्रोका प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वयप्रमुख शाक्यले जानकारी दिनुभयो ।


