Aamsanchar

कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु प्रभावित हुँदा प्रदेश १ मा रगतको अभाव

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

विराटनगर : कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु प्रभावित हुँदा प्रदेश १ मा रगतको अभाव भएको छ। मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा सञ्चित रगत नहुँदा अस्पतालहरुमा जटिल खालका बिरामीको अपरेशनलगायतका सेवा प्रभावित हुन थालेको छ।

नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव भएपछि सबैलाई रत्तदान गर्न आह्वान गरेको छ। सोसाइटीका मोरङका सभापति विनोद सिंहले रेडक्रस सोसाइटीमा अहिले सञ्चित रगत नहुँदा समस्या उत्पन्न भएको जानकारी दिए।

‘ब्लड बैंकमा दैनिक ब्लडको माग १०० पोकाभन्दा बढी छ,’ सभापति सिंले भने, ‘तर हामी ब्लड दिन सक्ने अवस्थामा अहिले छैनौं। हाम्रा ब्लड बैकको स्टोरमा सञ्चित रगतको अवस्था शून्यमा झरेको छ।’ विराटनगमा रहेका ठूला अस्पतालहरुको बिरामीका लागि आवश्य रगतको लागि दैनिक ठूलो माग रहेको उनले बताए। उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्रको ब्लड बैंकमा पनि रगत अभाव भए समस्या भएको छ।

रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र सञ्चालित ब्लड बैंकमा प्रतिष्ठानमा उपचारमा आएका बिरामीहरुलाई आवश्यक रगत उपलब्ध हुँदै आएको छ। तर, हिजो आज भने कोभिडको कारण रक्तदान कार्यक्रमहरु हुन छोडेपछि रगत सकिएको ब्लड बैंकका इञ्चार्ज सुवासचन्द्र सिंहले जानकारी दिए।

‘कोभिडको कारणले गर्दा रक्तदान कार्यक्रमहरु भएको छैन, त्यसैले रगत संकलन हुन छोड्यो र हामीकहाँ रगत नै छैन,’ उनले भने, ‘बिरामीहरुलाई धेरै समस्या भइरहेको छ, कसैले दाता मान्छे ल्यायो भने मात्र रिप्लेसमा रगत दिने काम भइरहेको छ।’ रगत नपाउँदा गाइनो, मुटुका अप्रेशन, डाइलाइसिस र इमरजेन्सीमा आएका बिरामीहरुलाई धेरै समस्या भइरहेको पनि ब्लड बैंकले जनाएको छ। समयमा रगत उपलब्ध नहुँदा उपचार नै प्रभावित हुने र ज्यान गुमाउने खतरा पनि बढेको छ। त्यसैले रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्न ब्लड बैंकका इञ्चार्ज सिंहले विभिन्न संघ÷संस्थाहरुलाई आह्वान गरेका छन्।

‘बिरामीहरुलाई एकदमै समस्या भइरहेको छ, हामीसँग रगत नै छैन,’ उनले भने। ‘त्यसैले रक्तदान कार्यक्रम गर्न संघसंस्थाहरुलाई म आह्वान गर्छु।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर