Aamsanchar

विराटनगर भन्सार नाका हुँदै भारतबाट यस वर्ष फूलको आयात शून्य

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

विराटनगर  : नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारले छपक्कै छोपिसक्दा पनि विराटनगर भन्सार नाका हुँदै भारतबाट यस वर्ष फूलको आयात शून्य रहेको छ । फूलैफूलको पर्व तिहारमा सधैं भारतीय फूलको भर पर्नुपर्ने अवस्था थियो । 

प्रत्येक वर्ष तिहारमा लाखौं रुपैयाँको मखमली, सयपत्री लगायतका नेपालमा आवश्यक पर्ने फूल भारतबाट भित्रने गरेका थिए । छठ पर्वका लागि समेत भारतबाटै फूलको आयात हुन्थ्यो । तर कोरोना महामारीका कारण यस वर्ष भारतबाट फूल भित्रिएन । भारतबाट आयात शून्य भएपछि नेपालमै उत्पादित फूलले यस वर्ष तिहार मनाउनु पर्नेछ । 

विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले कोरोना महामारीका कारण फूलको आयात प्रभावित भएको जानकारी दिए । ‘कोरोनाका कारण फूलको आयात हुन सकेन,’ उनले भने, ‘जसका कारण फूलको परनिर्भरता हट्ने संकेत पनि मिलेको छ ।’ विभिन्न समस्या हुँदा भारतबाट फूल आउन नसक्ने भएकाले आगामी दिनमा आवश्यक पर्ने फूल आफै उत्पादन गर्नुपर्ने रहेछ भन्ने सन्देश पनि सबैमा प्रवाह भएको भण्डारीको भनाइ छ ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा भने विराटनगर भन्सार हुँदै ५७ लाख ९६ हजार दुई सय ३५ रुपैयाँ बराबरको ६३ दशमल ८२ मेटिक टन फूल आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३५ लाख १२ हजार नौ सय ४७ रुपैयाँको  ६० दशमलव १८ मेट्रिक टन फूलको आयात भएको थियो । 

बर्षेनि भारतबाट आयात र फूलमा परनिर्भरता बढिरहेका बेला यस वर्ष भने फूल आयात नभएको प्रमुख भण्डारीको भनाइ छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका बेला प्रशासनले सामूहिक हिसाबले चाडपर्व मनाउन रोक लगाएपछि खपत कम हुने हुँदा फूलको आयात पनि नभएको हुनसक्ने उनको विश्लेषण छ । 

कोरोनाका कारण अन्तर्राष्ट्रिय सीमा नाका हालसम्म बन्द छ । जसका कारण पनि फूल आयात प्रभावित भएको हुनसक्ने भन्सारले जनायो । विगतमा रिक्सा र ठेला लगायतका साधानको प्रयोग गर्दै फूल भित्राउने गरिन्थ्यो । 

व्यापारीहरुका अनुसार यस वर्ष बजारमा फूलको माग नै कम छ । विराटनगरका फूल व्यापारी बलराम मानिकले कोरोनाका कारण फूलको व्यापार प्रभावित बनेको बताए । ‘गत वर्षतिर तिहार अगावै फूलको माग अत्याधिक हुने गरेको थियो,’ उनले भने, ‘तर यस वर्ष अहिलेसम्म कहीँकतैबाट माग आएको छैन ।’ व्यापारी मानिकले भारतबाट फूलको आयात हुन नसक्दा स्थानीय स्तरमै उत्पादित फूलले माग धान्नुपर्ने अवस्था रहेको पनि सुनाए । 

प्रत्येक वर्ष तिहारमा आफूले छ क्विन्टलभन्दा बढी फूल बिक्री गर्ने गरेको उनले सुनाए । तर यस वर्ष त्यसको आधा पनि किनबेच हुनसक्ने अवस्था नरहेको मानिकको भनाइ छ । ‘भारतबाट राम्रो फूल आउने भएकाले सबैको आँखा पर्ने गरेको थियो,’ उनले भने, ‘अहिले नेपालमै उत्पादित फूल चलाउनुपर्ने भएकाले हो कि किन हो ग्राहाक पाउन सकिएको छैन ।’ मानिकले घरमा प्रयोग गरिने फूलको ठाउँमा बिजुलीबाट बालिने झिलिमिली बत्तीको प्रयोग बढेकाले पनि फूलको माग बजारमा कम भएको हुनसक्ने बताए ।

झिलिमिली बत्ती भने आयात 

फूल आयात शून्य रहेको भन्सार नाका हुँदै बिजुलीबाट बालिने झिलिमिली बत्ती (इलेक्ट्रिक बत्ती) भने आयात भएको छ । चालु आर्थिक वर्षको हालसम्म एक करोड तीन लाख मूल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयकी प्रवक्ता सुनिता पौडेलले बताइन् । विशेष गरेर तिहार र छठ पर्वमा यस बत्तीको प्रयोग र माग धेरै हुने गरेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षको हालसम्म ५७ रुपैयाँ ३० पैसा प्रति युनिटका दरले एक लाख ७९ हजार आठ सय ९१ युनिट झिलिमिली बत्ती भन्सार नाकाबाट नेपाल भित्रिएको पौडेलको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ को यही अवधीमा विराटनगर भन्सारबाट ५४ रुपैयाँ २१ पैसा प्रति युनिटका दरले एक करोड ४८ लाख ३२ हजार एक सय रुपैयाँ बराबरको दुई लाख ७३ हजार पाँच सय ६५ युनिट झिलिमिली बत्ती आयात भएको थियो । तिहार लागेसँगै सबै जसो घरमा झिलिमिली बत्ती बाल्न थालेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर