Aamsanchar

नेपाल सरकारलाई जानकारी नदिई प्रहरी सेवामा लैजान कतारद्वारा सुटुक्क अन्तर्वार्ता

Author Image
बुधवार, मंसिर १०, २०७७

काठमाडौँ — कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको छ । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको हो ।

विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो ।

कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको हो । अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौंमा आएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारको प्रहरी सेवामा भर्ना गर्न कतैबाट अनुमति नलिइएको बताए । ‘नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण भएपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया अगाडि बढाउन पूर्वश्रमस्वीकृति दिने गर्छौं,’ उनले भने, ‘पूर्वस्वीकृति पाएपछि सार्वजनिक सूचना जारी गरेको ७ दिनपछि मात्रै अन्तर्वार्ता गर्नुपर्ने प्रक्रिया छ । यो प्रक्रिया पालना गरिएन ।’

दाहालले राज्यलाई नजरअन्दाज गर्ने गरी काम भएको बताए । अन्तर्वार्ता दिन आएका युवाको हातमा कतारी प्रहरी सेवाका लागि आवेदन फाराम थमाइएको थियो । झन्डै एक वर्ष अगाडि कतारले नेपालीलाई प्रहरी सेवामा लैजान थालेको हो । पहिलो चरणमा १ सय ७० जना नेपाली श्रमिकलाई भर्ना गरिएको थियो । उनीहरूलाई पनि सुटुक्क अन्तर्वार्ता गरी छनोट गरिएको थियो । कतारले विश्वकप फुटबललाई समेत लक्ष्य गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने योजना बनाएको छ ।

प्रहरी सेवामा भर्ती हुन उमेर २५ देखि ३६ वर्षसम्म र उचाइ ५.८ फिट हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि ६ हजार तलब रियाल दिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर