Aamsanchar

उखु किसानको आन्दोलन माइतीघरमा सुरु

Author Image
आइतवार, मंसिर २८, २०७७

काठमाण्डौ-उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

किसानहरुले आफ्ना माग पूरा नहुञ्जेल माइतीघर मण्डलामा आन्दोलन गर्ने बताएका छन् । गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि उनीहरु फर्किएका थिए । तर सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानको अडान छ ।

चिनी मिलबाट वर्षौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको उनीहरुको गुनासो छ । गएको वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइ दिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।

सरकारी तथ्याङ्कअनुसार उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै बक्यौता पाउनु पर्नेछ । यसैबीच काठमाण्डौमा सुरु भएको उखु किसानहरुको आन्दोलनलाई विवेकशील साझा पार्टीले आफ्नो साथ र सहयोग रहेको बताएको छ । ऐक्यबद्धता जनाउँदै साझा पाटीले विज्ञप्ति निकालेर उखु किसानको आन्दोलनप्रति समर्थन जनाएको हो । उसले किसानका माग पूरा गर्न सरकारसँग माग पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर