Aamsanchar

नियमित परीक्षण, जोगिन्छ स्तन

Author Image
आइतवार, असोज १६, २०७३

काठमाडौं:

Breast-57f0730092ee12.84878203

बदलिँदो जीवनशैली, यौनजीवन, खाना र औषधिले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरूको ज्यानसमेत लिने क्रम बढेपछि संसारभर हरेक अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध महिना घोषणा गर्दै जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

नेपालमा पनि महिनाको पहिलो दिन शनिबार क्यान्सर उपचारमा संलग्न विभिन्न अस्पताल, विभिन्न फाउन्डेसन र त्यसमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले स्तन क्यान्सरविरुद्ध जनचेतना, त्यसको परीक्षणलगायत विभिन्न कार्यक्रम सुरु गरेका छन् । कार्यक्रमका सहभागी चिकित्सकले नियमित परीक्षण गरेमा स्तन क्यान्सरबाट जोगिने भएकाले त्यसका लागि समय छुट्ट्याउन महिलाहरूलाई आग्रह गरे । नेपालमा स्तन क्यान्सर हुने महिलाको संख्या बढ्दै गएको छ ।

त्यसमा पनि सहरका कम उमेरका महिला धेरै छन् । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनकी अंकोलोजी फिजिसियन डा. सन्ध्या चापागाईंका अनुसार अस्पतालमा हुने गरेका पछिल्ला अध्ययनबाट १९ देखि ४० वर्ष उमेरका नेपाली महिलामा स्तन क्यान्सर बढी देखापरेको छ । ‘पहिलेपहिले पाठेघरको मुखको क्यान्सरबाट नेपालका धेरै महिला ग्रसित हुन्थे । अहिले स्तन क्यान्सरले धेरै महिलालाई आक्रान्त पारेको छ । त्यसैले समयमै र नियमित जाँच यसबाट बच्ने प्रमुख उपाय हो’, डा. चापागाईंले भनिन्, ‘स्तन जाँचका लागि महिनामा एक दिन छुट्टयाएमा जीवनभर पछुताउन पर्नेछैन ।’

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा नजन्माउनु, धेरै उमेरमा बच्चा जन्माउनु, स्तनपान नगराउनु, शरीरको वजनमा वृद्धि तथा रक्सीको अत्यधिक सेवन गर्नुले स्तनमा क्यान्सर हुने गरेको छ । जाउलाखेलस्थित नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरका वरिष्ठ अंकोलोजी फिजिसियन डा.मदनकुमार पियाका अनुसार नेपालका अधिकांश महिलामा अझै पनि स्तन क्यान्सरका विषयमा पर्याप्त जानकारी छैन । उनले भने, ‘विकासोन्मुख देशका धेरै महिला आफ्नो स्तनको नियमित परीक्षण गराउन लजाउँछन् । सामान्य लक्षण तथा दुखाइमा हेलचेक्र्याइँ गर्नाले स्तन क्यान्सर घातक स्तरमा पुगिसकेपछि मात्र महिलाहरू उपचारका आउने गरेका छन् ।’

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालका कार्यरत अंकोलोजी सर्जन डा. केपेन्द्रशेखर अमात्यले पहिलो चरणमा रहेको स्तनको क्यान्सर औषधि वा शल्यक्रियाबाट निको हुने भएकाले यसबारे सबै जानकारी लिन आवश्यक भएको बताए । अध्ययनअनुसार नियमित शारीरिक व्यायाम गर्नाले स्तन क्यान्सरबाट बच्न सकिन्छ । स्तन क्यान्सरलाई सुरु अवस्थामै पत्ता लगाउन महिला स्तनको परीक्षण मेमोग्राफीका माध्यमबाट गर्नुपर्ने चिकित्सकको सुझाव छ । स्तनमा गाँठागुँठी आउनु, स्तनको टुप्पो रातो हुनु, त्यसबाट पिपजस्तो पदार्थ बग्नु, स्तन सुन्निनु तथा थिच्दा दुख्नुलगायत स्तन क्यान्सरका लक्षण हुन् ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर