Aamsanchar

साविक नेकपा एमाले समर्थित युवा संघ द्वारा नेकपा लमजुङ कार्यालयमा तालाबन्दी

Author Image
मङ्गलवार, पौष ७, २०७७

लमजुङ । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र चुलिएको आन्तरिक विवादको प्रभाव जिल्ला तथा स्थानीय तहमा देखिन थालेको छ। नेकपा लमजुङको पार्टी कार्यालयमा ताला लागेको छ। साविक नेकपा एमाले समर्थित युवा संघले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो।

पार्टी विखण्डनको मुखमा पुगेको भन्दै युवा संघले अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाइएको छ। प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काम भएको र साविक नेकपा एमालेको पार्टी कार्यालयमा बसेर कुनै पनि नेताहरुलाई प्रपोगाण्ड बनाउन नदिन अर्को निर्णय नभएसम्मका लागि ताला लगाइएको युवा संघ लमजुङका अध्यक्ष ऋषि बस्नेतले बताए।

जिल्ला अध्यक्ष मधु अधिकारी कार्यालयमै भएका बेला युवा संघले कार्यकक्षमा ताला लगाएको हो। हाल प्रतिनिधिसभा विघटन भए पनि पार्टी विभाजन नभएको अवस्थामा जिल्लामा यति ठूलो विवाद ल्याउन आवश्यक नरहेको जिल्ला अध्यक्ष अधिकारीको भनाइ छ। युवा संघको क्रियाकलाप अराजक भएको अध्यक्ष अधिकारीले प्रतिक्रिया दिए।

जिल्लास्थित नेकपा पार्टी कार्यालय साविक नेकपा एमालेको पार्टी कार्यालय हो। हाल जिल्ला नेतृत्व भने साविक नेकपा माओवादी पक्षमा छ। युवा संघमा आवद्ध साविक नेकपा एमाले सम्वद्ध युवाहरुले भने अध्यक्षलाई कार्यालय छोड्न दवाव दिइरहेका छन्। अध्यक्ष अधिकारी कार्यालयबाट बाहिरिएसँगै संगठनमा आवद्ध युवाहरुले बेसीशहरको भिमसेनस्थानदेखि शेरा चोकसम्म र्‍याली निकालेका थिए।  थाहा खबर बाट 

Views: 450

प्रतिक्रिया (०)

सम्बन्धित खबर