बीबीसी । चीनका आधा भन्दा धेरै वयश्क, करिब ५० करोड बढी जनसङ्ख्यामा ‘ओभरवेट’ अर्थात आवश्यक भन्दा बढी तौल हुने समस्या रहेको आधिकारिक रिपोर्टमा पत्ता लागेको छ । सो तथ्याङ्क २००२ को तुलनामा उल्लेखनीय रुपमा वृद्धि भएको हो जसबेला २९ प्रतिशत वयश्क ओभरवेट थिए । पछिल्ला केही दशक देशमा तिव्र आर्थिक वृद्धि भइरहेको हुँदा त्यही कारण मानिसहरुको जीवनशैली, डायट र शारीरिक अभ्यासको बानीमा ठूलो परिवर्तन आएको छ ।
गत अक्टोबरमा मात्र चिनियाँ सरकारले बढ्दो मोटोपनाको दरलाई कम गर्न नयाँ योजनाहरु सार्वजानिक गरेको थियो । बढी तौल या मोटोपनाको समस्याले मुटु सम्बन्धी रोग, मधुमेह, स्ट्रोक लगायत थुप्रै गम्भीर रोगहरु निम्त्याउन सक्छ । र महामारीको अवधिभर मोटोपनाको समस्याले पुनः सबैको ध्यान केन्द्रित गराएको छ जसमा कोभिड–१९ बाट संक्रमित व्यक्ति ओभरवेट भए उनीहरु गम्भीर बिरामी पर्ने या मृत्यु समेत हुन सक्ने प्रबल सम्भावना रहेको पाइएको हो ।
बुधबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजानिक गरेको रिपोर्टमा ५० प्रतिशत भन्दा धेरै वयश्यहरुको तौल आवश्यक भन्दा धेरै भएको उल्लेख छ । रिपोर्टमा यसका लागि मानिसहरुको घट्दो शारीरिक क्रियाकलापलाई मुख्य कारण बताइएको छ । हाल वयश्क जनसङ्ख्याको एक चौथाइ भन्दा कमले मात्र हप्तामा कम्तीमा एक दिन एक्सरसाइज गर्ने गरेको पाइन्छ ।
त्यस्तै मासु प्रतिको बढ्दो मोह अनि फलफुल उपभोगमा कमी आउनु पनि अर्को प्रमुख कारण भएको बताइएको छ । हार्बिन शहरका न्युट्रिसनविद् वान दानले एएफपी न्युज एजेन्सीसँग भनेका छन्, “अहिले प्रायः मानिसहरु एकदम कम एक्सरसाइज गर्ने गर्छन्, एकदम धेरै दबाब र तनावमा हुन्छन् र तिनको काम गर्ने तालिका पनि एकदम अस्वस्थकर हुन्छ ।
यसरी केही वर्ष यता बढ्दो ओभरवेट जनसङ्ख्या हुनेमा चीन एक्लै पर्दैन । यसअघि विश्व स्वास्थ्य संगठन डब्लूएचओले १९७५ को तुलनामा अहिले विश्वव्यापी मोटोपनाको समस्या तीन गुणाले बढेको जनाएको थियो । यसमा पनि क्षेत्रफल र जनसङ्ख्याका आधारमा सानो गल्फ मुलुक, कतार यो विषयमा सबैभन्दा नराम्ररी प्रभावित भएको देखिन्छ जहाँका ७० प्रतिशत भन्दा धेरै मानिसहरुमा मोटोपनाको समस्या रहेको छ । बीबीसीबाट