Aamsanchar

हिउँ वा पानी नपरेसम्म पाथीभरा क्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिने, सयौँ पशुपक्षी मरेको अनुमान

Author Image
मङ्गलवार, पौष १४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेको अनुमान गरिएको छ । विश्वमा दुर्लभ मानिने रेडपाण्डालगायत पशुपक्षी पाइने यो जङ्गलमा गएको ६ दिनदेखि डढेलो लागिरहेको छ । आगो अहिले पनि अनियन्त्रित छ । आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पाथीभरा देवीको मुख्य थानमा आगो लागे पनि अहिले पूजा गरिँदै आएको मन्दिरमा भने अग्नि रेखा बनाएर जोगाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभएको छ । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक काफ्लेले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानवबस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो ।

काठमाण्डौबाट आएको सिम्रिक एअरको हेलिकप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । हिजो ९सोमबार० हेलिकप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन ।

आज (मङ्गलबार) पनि हेलिकप्टरबाट पानी फ्याँक्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । गएको बिहीबारदेखि फुङलिङ नगरपालिका ११ को फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर