Aamsanchar

विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता, चोरीमा संलग्न ४२ जनालाई कारबाही

Author Image
बिहिवार, पौष १६, २०७७

सिरहा-नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टीभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि अहिलेसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्राउ गरी कारबाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो ।

उनीहरुबाट तीन लाख दुई हजार ५४९ रुपैयाँ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहकाअनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्युत् खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताउनुभयो ।  यस अवधिमा ५० लाखभन्दा बढी बक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १४० ग्राहकको लाइन यस अवधिमा काटिएकामा १२७ जनाबाट ५७ लाख २४ हजार ८५३ रुपैयाँ असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारी रहेको इञ्जिनीयर साहको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजअन्तर्गत कुल ५१ हजार ९८७ ग्राहक छन् । विद्युत् चोरीमा संलग्नलाई धमाधम कारबाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत् हुकिङ गरेर चोरी गर्नेको सङ्ख्या अहिले घट्दै गएको तर पूर्ण नियन्त्रणमा भने हुन नसकेको केन्द्रका प्रमुख यादवको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर