Aamsanchar

मिटरब्याजीको गिरोहविरुद्धको कारबाही तीव्र,पक्राउ परेकालाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ताको तयारी

Author Image
बिहिवार, माघ १, २०७७

विराटनगर – थोरै पैसा लगानी गर्दै मिटरब्याजका नाममा धेरै असुल्ने एउटा ‘नामुद’ गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ताको तयारी गरिएको छ। उक्त गिरोहका मुख्य नाइके विराटनगर महानगरपालिका–९ का ३२ वर्षीय एजाज अहमद यसअघि नै पक्राउ परेका छन्।

एजाज नेतृत्वको गिरोहमा अन्य तीन जना विराटनगर–९ का ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खान आवद्ध रहेको अनुसन्धानबाट खुलेको छ। गत पुस ६ गते एजाज पक्राउ परेपछि अरु फरार छन्।

एजाज र उनको गिरोहमा आवद्ध फरार रहेका तीनसहित चार जनालाई प्रतिवादी बनाएर प्रहरीले घटनाको अनुसन्धान सक्दै मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको छ। मिसिलको अध्ययन गर्दै वकिल कार्यालयले अभियोगपत्र तयार पारेर शुक्रबार ‘अपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ताको तयारी गरेको हो। प्रहरीले मिसिल बुझाए पनि बुधबार समय अभावका कारण मुद्दा दर्ता हुन सकेन।

वकिल कार्यालयका अनुसार बिहीबार सार्वजनिक विदा भएका कारण शुक्रबार मुद्दा दर्ता गरिने छ। मुद्दा दर्तासँगै वादी र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि अदालतबाट उक्त गिरोहलाई पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छाड्नेभन्ने आदेश हुने छ।

‘लाखमा लगानी गर्ने र पटक–पटकको ब्याजसहित हिसाब गरेर करोडमा असुल्ने गिरोहका मुख्य नाइके एजाज हुन्। उनीमार्फत अरुले पनि मिटरब्याजमा लगानी गरिरहेको अनुसन्धानबाट खुलेको छ’, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘लगानी गरिएकाहरुले पैसा दिन नसके अपहरण गर्ने र गुण्डागर्दी हिसाबले अनेक यातना दिएर असुल्ने गरेको पाइयो। एउटा यस्तै घटना बाहिरिएपछि अनुसन्धान थाल्दा मिटरब्याजको धन्दा बाहिरिएको हो।’

एसपी खड्काले एजाज पक्राउ परे पनि फरार रहेका अन्य तीन जनाको खोजी तीव्र पारिएको बताए। उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरिएको छ। ‘मिटरब्याजी’ गिरोहविरुद्ध कारबाही चलाउन अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको र पक्राउ परेका एवं फरार रहेकालाई प्रतिवादी बनाएर मुद्दा दर्ता हुने उनको भनाइ छ।

प्रहरी अनुसन्धानबाट एक वर्षअघि विराटनगर–१५ का ३२ वर्षीय रामकिशोर ठाकुरले एजाजको समूहसँग १५ लाख रुपैयाँ ऋण लिएको खुलेको छ। ‘एक वर्षभित्रमा दुई लाख थपेर १७ लाख बुझाउने मौखिक सर्तमा ऋण लिएको पाइयो’, प्रहरी स्रोतले भन्यो, ‘तर परिबन्धमा पारेर ४५ लाखको तमसुक गराएछन्।’ साथीभाइ भएकाले एक वर्षभित्रमा १७ लाख तिर्दा हुने, तर आवश्यक परेका कारण ४५ लाखको कागज गर्नै पर्ने भन्दै एजाजको समूहले ठाकुरलाई परिबन्धमा पारेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ।

सहमतिअनुसार ठाकुरले १७ लाख रुपैयाँ पनि फिर्ता गरे। तर समयमा कागज गरे अनुसारको ऋण नतिरेको भन्दै ठाकुरलाई धम्क्याउन र यातना दिन थालेको पाइएको एसपी खड्काले बताए। ‘सर्तअनुसार पैसा बुझाएँ। तर त्यतिबेला कागज ४५ लाखको गराएका थिएँ’, अनुसन्धानका क्रममा ठाकुरले भनेका छन्, ‘त्यत्रो पैसा दिन सक्दिनँ भन्दा मंसिर २५ गते विराटनगरको रोडशेष चोकमा बोलाएर अपहरण गरे। दिनभर आफ्नो कब्जामा राखेर साँझ एक करोड १० लाख रुपैयाँको अलगअलग चेकमा हस्ताक्षर गराउँदै छाडिदिए।’

एजाज नेतृत्वको गिरोहले दिनभर कब्जामा राखेर ६० लाख रुपैयाँ दिन आफूलाई दबाब दिएको र दिननसक्ने बताएपछि जबरजस्ती हस्ताक्षर गराएर चेक लगेको ठाकुरले अनुसन्धानका क्रममा दिएको बयानमा उल्लेख छ। उनले रोडशेषबाट आफूलाई बा १८ च ८९९५ नम्बरको कारमा राखेर एजाज, फाकिरा, सावन र तनवीरसहितले अपहरण गरेर दिनभर आफ्नो कब्जामा राखेर विराटनगर बजार घुमाएको बताएका छन्।

‘त्यतिबेला मेरो साथमा भएको दुई लाख रुपैयाँ गाडी भित्रबाट खोसे’, ठाकुरले दिएको जाहेरीमा उल्लेख छ, ‘त्यसपछि खाता रहेको कामना विकास बैंकको चेकमा एक करोड १० लाख रुपैयाँको दुईवटा चेक बनाएर हस्ताक्षर गर्न लगाए।’ ठाकुरले दिएको जाहेरीअनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाउँदै एजाजको समूहले साँझ ६ बजे देवकोटा चोकमा छोडिदिएको हो।

उल्लेखित मितिमा पैसा नदिए जे पनि गर्ने भन्दै धम्की दिन थालेपछि ज्यानको बाजी राखेर आफू प्रहरीमा उजुरी दिन पुगेको उनले बताए। ठाकुरले उजुरी दिएको पाँच दिनपछि एजाजलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उक्त गिरोह मिटरब्याजमा लगानी गर्ने समूह रहेको प्रहरीले पत्ता लगाएको हो।

प्रहरीले ‘मिटरब्याजी’ विराटनगर–९ घोघापुल चोकका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पनि पुस १६ गते पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। त्यसअघि नै नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउँदा रौनियारले पनि मिटरब्याजमा रकम लगानी गरिरहेको फेला पारेपछि प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो।

एसपी खड्काकाअनुसार रौनियारले विभिन्न व्यक्तिलाई अहिलेसम्ममा ८५ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानबाट देखिन्छ। मिटरब्याजमा लगाएको त्यो पैसामध्ये अहिलेसम्म दुई करोड ८५ लाख रुपैयाँ असुल गरिसकेको र तीन करोड रुपैयाँ उठाउने क्रममा रहेको खुलेको उनले बताए। ‘८५ लाख लगानी गरेर पाँच करोड ८५ लाख रुपैयाँ असुल्न खोजेको देखिन्छ। त्यो मिटरब्याजमै गरिएको लगानी रहेको खुल्यो’, एसपी खड्काले भने, ‘व्यक्तिका जग्गा धितो राख्दै थोरै पैसा लगानी गरेर धेरै लाभ लिन खोजेको पाइयो। रौनियारबाट पीडित भएकामध्ये मोरङको विराटनगर, धनपालथान, जहदा, रंगेली, रतुवामाई लगायतबाट १६ जनाको जाहेरी परिसकेको छ।’

उनले ठगी मुद्दाको अनुसन्धान सकेपछि थप कारबाही अघि बढाउन रौनियारलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा पनि चलाइने बताए। सम्पत्ति शुद्धीकरण विभागमा कारबाहीका लागि बुझाउनलाई अहिले उनले प्रयोग गर्ने बैंक खाता जुटाउँदै जम्मा रहेको रकमका बारेमा बुझ्ने र मालपोत कार्यालयमार्फत जग्गाको विवरण माग्ने काम भइरहेको जानकारी एसपी खड्काले दिए। ‘मिटरब्याजमा लगानी गरेर अवैध हिसाबले असुल्ने ठूलै गिरोह सक्रिय रहेको पाइएको छ’, उनले भने, ‘विराटनगरमा ‘मिटरब्याजीको गिरोहविरुद्धको कारबाही तीव्र पारिएको छ।’ प्रहरीले यसरी कोही ठगिएको भए उजुरी दिन र सम्पर्कमा आउन पनि सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर